सामान्यतय चैतेदसैँ र रामनवमी अघिल्लो दिन र भोलिपल्ट पर्छ। तर यो वर्ष भने दुवै पर्व एकै दिन मनाइँदैछ, अाइतबार। अष्टमीका दिन विशेषगरी शक्तिस्वरूपा भगवतीको पूजा गरिन्छ। दुर्गा भवानीका नौ रूपलाई नवदुर्गाका रूपमा पुज्ने, महाकाली महालक्ष्मी र महासरस्वतीको आराधना गर्ने परम्परा छ। त्रेतायुगमा यही दिन मर्यादापुरुष रामचन्द्र जन्म भएको दिनको रूपमा रामनवमी पर्व मनाइन्छ। किन एकैदिन पर्यो त दुईटा पर्व एकैदिन? पञ्चांगहरूले आइतबार बिहान ३:४३ घडीसम्म अर्थात् बिहान ७:३४ सम्म अष्टमी उल्लेख गरेका छन्। लौकिक पात्रोअनुसार अष्टमी रहेको समयसम्म त्यही दिनको उद्देश्यले कार्य गर्ने त्यसपछि अर्को तिथिको। ‘नवरात्रको अष्टमीमा गर्नुपर्ने कार्य सूर्योदय भएकै दिन गर्नु भन्ने निर्देश छ’,पञ्चांग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतम भन्छन्, अष्टमीको सूर्योदय आइतबार बिहान नै हुन्छ।’ त्यसैले यही दिन चैतेदशैं मनाउन निर्देश गरेको उनले बताए। ‘रामको पूजा भने मध्याह्नमा गर्ने विधान छ’, गौतम भन्छन्, ‘रामको जन्म मध्याह्नमै भएको शास्त्रमा उल्लेख छ।’त्यसैले बिहान देवीको आराधना गरी दिउँसो रामचन्द्रको पूजाअर्चना गर्न सकिने धर्मशास्त्रीहरू बताउँछन्। नेपालको पहाडी समाजमा रामनवमीभन्दा चैतेदसैँलाई बढी महत्त्व दिने गरिएको छ। वैदिक गणनाअनुसार पर्दैन एकै दिन दुई पर्व वैदिक पात्रोका निर्माता प्रमोदवर्धन कौण्डिन्न्यायन मूल वैदिक परम्पराअनुसार दुई तिथि एकै दिन मनाउन नमिल्ने तर्क गर्छन्। ‘तिथि घटबढ हुँदैन’, उनी भन्छन्, ‘एउटा सूर्योदयबाट अर्को सूर्योदयसम्म पूरै एउटा तिथि रहन्छ।’ वैदिक पात्रोका अनुसार आइतबार अष्टमी हो भने सोमबार नवमी।