काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत यु होङसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले नेपालको पुनः निर्माण र विकासमा प्राप्त चिनियाँ सहयोगका लागि धन्यवाद दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा उहाँले नेपाल र चीनबीच विगतदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको बताउँदै युको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा राजदूत युले आफ्नो कार्यकालमा नेपाल र चीन बीचको सम्बन्ध थप सुदृढ गर्नमा केन्द्रित रहने बताउनुभयो । भेटका अवसरमा प्रधानमन्त्री दाहाल र राजदूत युबीच चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि कुराकानी भएको थियो ।