बिष्णु निश्चल
बिबाह मानिसको जीवनमा गर्ने पर्ने एउटा कर्म हो जसले यो सृष्टीलाई निरन्तरता दिईरहेको हुन्छ । पुरुष र महिलाबिच सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध लाई बिबाहको रुपमा परिभाषित गर्ने गरिन्छ । जसले दुइ परिवार बिच नया नाता सम्बन्ध जोड्ने काम गर्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता या दुई आत्माबीचको पवित्र मिलन भन्ने गरिन्छ । नेपाली स समाजमा विभिन्न जातजाति, धर्म र सम्प्रदायअनुसार विवाह कर्ममा केही फरकफरक संस्कार अनुसार बिबाह गर्ने गरको पाइन्छ
२०७५ साल भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिता २०७४ ले विवाहको परिभाषा गरेको छ । पुरुष र महिलाबीच दाम्पत्य जीवन प्रारम्भ भएपछि एक–अर्कालाई पति–पत्नीका रूपमा स्वीकार गरेमा विवाह भएको मानिन्छ । पछिल्लो समय नेपालमा मागी बिबाह भन्दा प्रेम बिबाह गर्नेहरु बढदै गएका छन् भने प्रम बिबाहलाई पनि पछिल्लो सयम कोर्ट म्यारीज गर्ने प्रबृति बढ्दो छ । थोरै खर्चमा गर्न गर्न सकिने यो बिबाह गर्न सकिन्छ ।
कानुनमा कस्तो छ ब्यबस्था
कानूनले तोकेको उमेर पुरा गरेका महिला पुरुष दुवैले एक आपसमा मन्जुरी भइ अदालतमा गै गरिने विवाहलाई दर्ता द्वारा विवाह (कोर्ट म्यारिज)भनिन्छ । दर्ताद्वारा विवाह गर्दा मुलुकी देवानी संहिता २०७४, र मुलुकी देवानी कायविधि संहिता २०७४ ले तोकेको कानुनी प्रकृया पुरा गर्नु पर्दछ । मुलुकी देवानी संहिता २०७४ को दफा ७७ अनुसार नेपालभित्र रहेका कुनै महिला र पुरुषले दर्ताद्वारा विवाह गर्न चाहेमा आफ्नो नाम, थर, उमेर, ठेगाना, पेसा, बाबु, आमा, बाजे, बज्यैको नाम,यस अघि विवाह भए वा नभएको र विवाह भएको भए वैवाहिक सम्बन्ध अन्त्य भएको व्यहोरा खुल्ने प्रमाण तथा कम्तीमा दुई जना साक्षीको नाम समेत खुलाई सम्बन्धित जिल्ला अदालत समक्ष प्रचलित कानून अनुसार विवाह गर्न उमेर पुगेका महिला र पुरुषले तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था छ ।
निवेदन साथ अविवाहित प्रमाणित स्थानीय तहको सिफारिस पत्र,नागरिकताको प्रमाण पत्रको सक्कल साथै प्रतिलिपि, अन्य जिल्लामा बसोबास गर्नेको हकमा हाल आवेदन पेश गरेको जिल्लामा कम्तीमा १५ दिनअघि देखि बसोबास गर्दै आएको प्रमाण स्वरुप स्थानीय तह वडाको सिफारिस ,महिला र पुरुषको ४र ४ प्रति पासपोर्ट साइजको फोटो संलग्न गर्नु पर्नेछ । दर्ताद्वारा विवाह गर्न चाहने महिला र पुरुष दुवैको उमेर २० वर्ष पुरा भएको हुनुपर्दछ ।
बिदेशी नागरिकको हकमा के गर्ने
विदेशी नागरिकले नेपाली नागरिकसँग विवाह गर्न चाहेमा आफ्नो मुलुकको सिफारिस ल्याउनु पर्दछ भने सम्बन्धित मुलुकको कानुन अनुसार विवाह गर्न योग्य पनि हुनु पर्दछ । नेपालमा महिला पुरुषको विवाहको लागि २० वर्ष उमेर पुगेको हुनुपर्ने भन्ने व्यवस्था भए जस्तै विदेशी व्यक्तिको हकमा सम्बन्धित देशमा कति उमेरमा विवाह गर्न मिल्ने कानुनी व्यवस्था छ सो उमेर पुरा भएको हुनुपर्दछ । यसका लागि विवाह सम्बन्धी सम्बन्धित मुलुकको कानुनी व्यवस्थाको नेपाली भाषामा कानुन बमोजिम अनुवाद गरिएको कानुनी व्यवस्थाको प्रतिलिपि पनि साथै राखी निवेदन दिनुपर्ने हुन्छ । निवेदन साथ नेपालीको हकमा अविवाहित प्रमाण पत्र र नागरिकताको फोटो कपी, विदेशीको हकमा म्याद नसकिएको राहदानी तथा नेपाली भिसाको प्रतिलिपि राख्नु पर्छ ।
बिदेशमा बिबाह दर्ता गर्नु परेमा के गर्ने ?
नेपाल भित्र महिला पुरुष वसोवास गरी आएको सम्बन्धीत जिल्ला अदालत र विदेशमा नेपालको राजदूतावास वा महावाणिज्य दूतावासबाट पनि दर्ताद्वारा विवाह गर्न सकिन्छ । विदेशमा विवाह गर्दा माथि उल्लेखित सम्पूर्ण विवरण खुलाई नेपालको सम्बन्धित राजदूतावास वा महावाणिज्य दूतावास समक्ष निवेदन दिनु पर्ने ब्यस्था छ । दर्ताद्वारा विवाहका लागी महिला र पुरुषको निवेदन परेमा दुतावासका सम्बन्धित अधिकारीले त्यस सम्बन्धमा आवश्यक छानबिन गरी निवेदन परेको मितिले ७ दिनभित्र विवाह हुने वा नहुने विषयमा निर्णय गर्नु पर्दछ ।
दफा ७९ मा निवेदक बिच विवाह हुने निर्णय भएमा सम्बन्धित अधिकारीले निवेदनमा उल्लिखित कुरा र विवाह गर्ने पक्षहरू कानुन बमोजिम एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गर्न मञ्जुर भएको ब्यहोरा समेत खुलाई विवाहको सहमति पत्र तयार गरी आफ्नो रोहबरमा निजहरू तथा उपस्थित साक्षीहरूको सहिछाप गराई त्यस्तो सहमति पत्रमा आफूले समेत सहिछाप गर्नु पर्नेछ भन्ने कुरा उल्लेख गरिएको छ । त्यसैगरी दफा ८० मा सहमति पत्रमा सहिछाप गराई सकेपछि सम्बन्धित अधिकारीले त्यस्तो विवाह दर्ता किताबमा दर्ता गरी आफ्नो र विवाह गर्ने पक्ष तथा उपस्थित साक्षी समेतको सहीछाप गर्नु वा गराउनु पर्दछ । विवाह दर्ता गरिसकेपछि सम्बन्धित अधिकारीले विवाह दर्ताका पक्षहरूलाई प्रचलित कानुन बमोजिम तोकिएको ढाँचामा विवाह दर्ताको प्रमाणपत्र दिन्छन । सो प्रमाण पत्र प्राप्त गरेपछि बिबाह गरेको मानिने कानुनी ब्यबस्था छ । यसरी यी प्रकृया पुरा गरेर स्वदेश तथा बिदेशमा जहाँ रहेपनि कानुनी तरिकाले बिबाह गर्न सकिन्छ ।