बिष्णु निश्चल
काठमाडौं । केही वर्षदेखि कपन नाकाबन्दीकै अवस्थामा छ । यहाँ सहज रूपले छिर्ने बाटो पाउनै युद्ध जित्नुसरह हुन्छ । काठमाडौं जिल्लाकै सबैभन्दा धेरै जनघनत्व रहेको ठाउँ र सबैभन्दा बढी जनसंख्या भएको नगरपालिकामा पर्छ– कपन । मतदाताको हिसाबले पनि काठमाडौं महानगरपालिका पछिको ठूलो स्थानीय तह बूढानीलकण्ठ नगरपालिकामा पर्ने कपनमा अहिले पनि बाटो, पानी र बिजुलीको सास्ती उस्तै छ ।
कपन छिर्ने मूल बाटो चाबहिल गोपीकृष्ण हुँदै जान्छ । तर त्यो भत्काइएको दुई वर्षभन्दा बढी भयो, मर्मत भएको छैन । त्यस्तै, रामहिटी, महांकाल, सुकेधारा, मण्डिखाटारलगायतका नाकाबाट पनि कपन पुगिन्छ तर त्यहाँबाट पनि नरकयात्रा गर्नुभन्दा कम्ती सास्ती छैन । एक त साँघुरा सडक, बाक्लो बस्ती त्यसैमाथि जथाभावी खनेर छाडिएको, कुनै पनि सडक सहज अवस्थामा छैनन् ।
पानी पर्दा हिलाम्मे हुने मात्र होइन, सडकमै बाढी चल्छ भने घाम लाग्दा धूलोले हिड्नै नसकिने हुन्छ । यो अवस्था चावहिलदेखि कपनको बालुवाखानी हुँदै चुनीखेलसम्म कायम छ । कपनका वडा नं. १०, ११ र १२ वडाका बासिन्दालाई बाटोको धेरै सास्ती भएको छ । तर सम्बन्धित निकाय र हालै निर्वाचित जनप्रतिनिधिहरू समेत मूकदर्शक बनेका छन् । सस्तो लोकप्रियता र द्रुत विकासको श्रेयका लागि हतारमा गरिएको विकासको परिणाम अहिले कपनवासीले भोगिरहेका छन् ।
वडा नं ११ को जगडोलदेखि माथिल्लो भेग सम्मको पानी संग्रह भएर तल्लो भेगतिर बग्ने र यसको उचित निकास नहुँदा पानी अहिले घर–घरभित्र पस्ने गरेको छ । निकै सानो र कम क्षमताको ढल हालेर बाटो निर्माण गर्दा यो दुर्गति भोग्न जनता बाध्य बनेका छन् । मापदण्डभन्दा निकै कम इन्चको पाइप राखेर अदूरदर्शी तरिकाको विकास गरेकाले अहिले यो समस्या सृजना भएको स्थानीयवासीको गुनासो छ । अलिकति पानी पर्दा पानी बाटा , बाल्टिन र जग लिएर ढलको ढक्कन खोल्दै पानीको निकास कटाउन सडक छेउमा उभिनु अहिले जनताको नियति बनेको छ । ठेकेदार कम्पनी र यहाँका विकासमा सरोकारवाला कसैले पनि यसको नैतिक तथा कानुनी जिम्मा नलिँदा समस्या झन् जेलिएको छ ।
वर्षौंदेखि भत्काइएको सडक मर्मत गर्ने, उचित ढल निकासको व्यवस्था गर्ने काम नभए अझै अप्रिय दुर्गति भोग्न यहाँका जनता बाध्य हुनेछन् । यहाँको समस्या नयाँ निर्वाचित जनप्रतिनिधिहरुलाई पनि थाहा छ । उनीहरू आफू पनि हैरान भएको प्रतिक्रिया दिइरहेका छन् । कपनको बाटो, ढल र खानेपानी समस्याबारे वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईलाई प्रश्न गर्दा उनले आफू एक्लैले गर्न नसक्ने प्रतिक्रिया दिए । ‘मैले कस–कसलाई बुझाउनुपर्ने हो, त्यो गरिरहेकै छु,’ भट्टराईले भने, ‘निर्वाचित भएपछि म ५ पटक सकडको डिजीलाई भेटिसकेँ तर हुन्छ गर्छु भन्छन्, काम अहिलेसम्म गरेका छैनन् ।’
ठेकेदारको लापरवाहीले यही साउनमा सक्नुपर्ने सडकको काम जम्मा २० प्रतिशत मात्र भएको वडाध्यक्ष भट्टराईले बताए । उनले भने, ‘आकाशेधारा देखि राममन्दिरको बाटो यही असोजमा सक्नुपर्ने कन्ट्र्याक्ट हो, तर त्यो पनि ३० प्रतिशतभन्दा बढी काम भएको छैन ।’ यस क्षेत्रमा सडक मर्मतको ठेक्का पाएको ठेकेदारको उच्च पहुँच भएको र आफूहरूलाई नटेर्ने गरेको गुनासो उनी आफैले गरेका छन् । विगतमा ठेकेदारले कांग्रेस नेता गगन थापासमेत लाई पनि टेरेको थिएन । गगनको किल्ला मानिने क्षेत्रमा वडाध्यक्ष जितेपछि यहाँको सडक, ढल र खानेपानी व्यवस्थापन लगायतका चुनौती हाल भट्टराईमाथि आइपरेका छन् ।
नवराजले अब बूढानीलकण्ठ नगरपालिकाको साधन स्रोत उपयोग गरेर सडक व्यवस्थित गर्न सम्बन्धित पक्षहरुसँग समन्वय गर्ने, यसबारे सार्वजनिक बहस थाल्ने लगायतका तत्कालीन योजना बनाएका छन् । सडक र मेलम्ची खानेपानीसँग कुरा गरेर कपनका सडकलाई गाडी गुड्नयोग्य बनाउने, खानेपानीको व्यवस्थापन र खहरे खोला क्षेत्रको बस्ती जोखिम न्युनीकरण गर्नेजस्ता कामलाई प्राथमिकता दिने उनले बताउँदै आएका छन् । तर उनी निर्वाचित भएको दुई महिना बित्दा पनि यस क्षेत्रमा कुनै परिवर्तन देखिएको छैन ।
कपनमा सडक तथा ढल निर्माणको जिम्मा पाएको शैलुङ्गेश्वरी कन्स्ट्रक्सन प्रा.लि.ले यहाँका जनताको मर्मलाई ध्यानमा राखी कार्यसम्पन्न गरेको पाइदैन । स्थानीयहरूले ठेकेदार तथा स्थानीय जनप्रतिनिधिहरूलाई यसबारे दबाब दिइरहेका छन् ।