काँग्रेस र मधेशी मोर्चाबीच छलफल

प्रकासित मिति: २३ माघ २०७३, आईतवार १७:०५

काठमाडौँ, २३ माघ । सत्तारुढ नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच संविधान संशोधनलगायत विषयमा आज सकारात्मक छलफल भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा साँझ भएको छलफलमा संविधान संशोधनलाई आपसी समझदारीका आधारमा अघि बढाउने सहमति भएको मोर्चाको एक घटक राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा मोर्चाले एक सूत्रीय संविधान संशोधनको विषयप्रति काँग्रेसको धारणा मागेको थियो । जवाफमा काँग्रेसले संशोधनको आवश्यक प्रक्रियाका लागि पार्टी अघि बढिसकेको र त्यसमा मोर्चाको तर्फबाट पनि सकारात्मक वातावरण बनाउन आग्रह गरेको थियो ।

बैठकमा मोर्चाले न्याय परिषद्बाट भएको नियुक्तिप्रति असन्तुष्टि जनाएको थियो । त्यस्तै राजदूत नियुक्ति सिफारिसमा मधेशी, आदिवासी जनजातिको तर्फबाट पनि पार्न काँग्रेसको ध्यानाकर्षण गराएको थियो ।

आजको बैठकमा काँग्रेस सभापति देउवा, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, उपप्रधानमन्त्री विमलेन्द्र निधी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, नेता प्रकाशमान सिंहलगायत हुनुहुन्थ्यो भने मोर्चाको तर्फबाट महन्थ ठाकुर, अशोक राई, राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, केशव झालगायतको उपस्थिति थियो

Bhansar Bivag
Argakhachi Cement