काठमाडौंबाट ऐतिहासिक सिन्धुलीगढीको टुप्पोमा साइकल

प्रकासित मिति: ३० कार्तिक २०७३, मंगलवार ०९:२६

काठमाडौं । समृद्ध सिन्धुली नागरिक अभियानले स्टोरी साइकलसँगको सहकार्यमा काठमाडौंबाट ऐतिहासिक स्थल सिन्धुलीगढीसम्म साइकल यात्रा भब्य रुपमा सफल भएको छ । बेलायती सेनालाई तत्कालीन गोर्खाली सेनाले हराएको यस ऐतिहासिक स्थलको टुप्पोमा पहिलो पटक साइकल चढेर यात्रीहरु पुगेका छन् । ‘राइड टु सिन्धुली गढी’ नाम दिइएको साइकल यात्रामा ८० जना ब्यवसायीक साइकल यात्री सहभागी भएका थिए । यात्रा काठमाडौं–धुलिखेल हुँदै जाने रमणीय वीपी राजमार्गमा भएको थियो । साइकल ¥याली सिन्धुली गढीमा मनाइएको विजयोत्सवमा सहभागी भएको थियो ।
सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो । त्यहाँ हरेकबर्षको कात्तिक २४ गते तत्कालीन गोर्खाली सेनाले विजय हासिल गरेको सम्झनामा विजयोत्सव मनाउने गरिएको छ ।
साइकल यात्राको नेतृत्व प्रसिद्ध विश्व साइकल यात्री पुस्कर शाह र अर्का यात्री देवेन्द्र बस्न्यातले गरेका थिए । यात्रीले सिन्धुलीगढीको ठूलो गढमा साइकल पु¥याएर बीर गोर्खालीको स्मरण गरेका थिए । यात्रीले साइकल काँधमा बोकेर ठूलो गढको सिडी पार गरेका थिए । ठूलो गढ महाभारत पर्वत श्रृङ्खलाको टुप्पोमा पर्छ ।
ऐतिहासिक सिन्धुलीगढीसम्मको पहिलो साइकल ¥यालीको नेतृत्व गर्न पाउँदा आफू गौरवान्वित भएको विश्व साइकल यात्री पुस्कर शाहले बताए । ‘सिन्धुलीगढी हरेक नेपालीले आफ्नो पुर्खाले देखाएको बीरताको इतिहास बुझ्न पुग्नै पर्ने ठाउँ हो,’ शाहले भने, ‘त्यस्तो स्थलमा आउन पाउँदा मेरो छाति गर्बले फुलेको छ ।’ उनले यस स्थलको प्रर्बर्धन गर्न आफूले सघाउने बताए ।
विजयोत्सवमा सहभागी हुन आएका हजारौं सर्बसाधारण पुस्कर शाहलाई कार्यक्रममा पाउँदा हर्षित भएका थिए । उनीहरु शाहसँग तस्बिर खिचाउन तँछाडमछाड गरिरहेका थिए ।
आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुग्दैछ । समृद्ध सिन्धुली नागरिक अभियानले त्यस उत्सवलाई बर्षैभरि विशेष कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको छ । साइकलयात्रा त्यसैको सुरुआत हो ।
साइकल यात्राको माध्यमबाट सिन्धुलीगढीलाई विश्वसामु परिचित गराउने समृद्ध सिन्धुली अभियानले लक्ष लिएको छ । यस्तो साइकलयात्रा हरेक बर्ष गर्ने अभियानको योजना छ । ‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई यस यात्रामा सहभागी गराउने हाम्रो प्रयत्न हुनेछ । सिन्धुलीगढी ऐतिहासिक स्थल हुँदै हो, जापान सरकारले बनाइ दिएको रमणीय वीपी राजमार्गले यस ऐतिहासिक स्थलसम्म पुग्न सहज बनाएको छ । यस रमणीय सडकको अबलोकन गर्दै पुगिने सिन्धुलीगढीसम्मको यात्राले छुट्टै रोमाञ्चक अनुभूति दिएको साइकल यात्रीले बताएको छ ।
यस बर्षको साइकल यात्रा आयोजना गर्न पर्यटन बोर्डले सघाएको थियो । यात्रीका लागि आयोजकका तर्फबाट खाने, बस्ने, टिसर्ट, बीमा, फर्कँदा सवारी साधनलगायतको ब्यवस्था मिलाइएको थियो । काठमाडौंबाट झण्डै १ सय ३५ किलोमिटर यात्रा साइकल यात्रीले तय गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement