काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले नेपाल क्रिकेट संघ क्यानमाथिको प्रतिबन्ध कायमै राखेर विवाद मिलाउन सल्लाहकार कमिटी बनाउने भएको छ । नेपाल भ्रमणमा रहेको आइसिसी टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र अन्य निकायका पदाधिकारीसँग भेट गरेपछि क्यानको विधान बनाउने जिम्मेवारीसहित सल्लाहकार कमिटी बनाउने निर्णय गरेको हो ।
काठमाडौमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आइसिसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचार्डसनले सल्लाहकार कमिटी दुई साताभित्र सार्वजनिक गर्ने जानकारी दिए । उनले भने ‘सल्लाहकार समितिमा सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र क्रिकेटका सबै सरोकारवाला समेटिनेछन्, यसले क्यानको वर्तमान विधान पुनरावलोकन गरी संशोधन गर्ने कि, नयाँ ल्याउने भनेर आइसिसीलाई सुझाव दिनेछ ।’
९ महिनाभित्र क्यानको विधान पुनरावलोकन गरी नयाँ निर्वाचन गरिसक्ने सिइओ रिचार्डसनको भनाइ थियो । नयाँ निर्वाचनका लागि पूर्ण सहयोग रहने बताउँदै उनले भने, ‘सन् २०१७ सम्ममा नेपाली क्रिकेट सामान्य अवस्थामा हुने गरी काम गर्छौं । नयाँ कमिटी आएपछि स्वतः निलम्बन हट्छ ।’
सल्लाहकार समितिमा रहनेको नाम दुई साताभित्र घोषणा गरिनेछ भने यसको नेतृत्व आइसिसीका प्रतिनिधि अमर शेखले गर्ने बताइएको छ । नेपाली क्रिकेटमा चरम विवाद आएपछि आइसिसीले करिब पाँच महिनाअघि क्यानलाई निलम्बन गरेको थियो ।
सरकारले भने नेपाल क्रिकेट विकास बोर्ड गठन प्रस्ताव गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीसँग आाइतबार बिहान भेट्न गएका आइसिसीका सिइओ रिचार्डसनसहित तीन सदस्यीय प्रतिनिधिमण्डलसँग सरकारको तर्फबाट बोर्ड गठनको प्रस्ताव राखिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपालमा क्रिकेटको लोकप्रियता बढ्दो क्रममा रहेको र आइसिसीले क्यानमा प्रतिबन्ध लगाएका कारण क्रिकेट क्षेत्र समस्यामा परेकाले प्रतिबन्ध फुकुवा गर्न टोलीलाई आग्रह गरेका थिए ।