छुवाछूतका घटनामा संलग्न दोषीमाथि कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रकासित मिति: १४ पुष २०७३, बिहीबार १३:४६

काठमाडौँ, १४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा भइरहेको जातीय भेदभाव तथा छुवाछूत घटनामा संलग्न दोषीमाथि कारबाही गर्ने बताउनुभएको छ ।

पछिल्लो पटक काभ्रेकी लक्ष्मी परियारको हत्यालगायत मुलुकभरि भएका छुवाछूतका घटनालाई लिएर संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित नागरिक समाजका प्रतिनिधिले आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले दलित समदायले प्राप्त गरेका उपलब्धि कमजोर हुँदै गएका कारण पनि दिन प्रतिदिन छुवाछूतका घटना बढ्दै गएको बताउँदै विभेदका विरूद्ध दलित समुदायबीचको एकता अहिलेको अपरिहार्य आवश्यकता हो भन्नुभयो ।

लक्ष्मी परियारका हत्यारालाई हदैसम्मको कानुनी कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, मलमूत्र खुवाएको घटनामा मिलापत्र गराउने प्रहरीलाई कारबाही गर्नुपर्ने, झुठा मुद्दामा फसाउने नियतका साथ हिरासतमा राखिएका लक्ष्मी परियारका श्रीमान्को तत्काल रिहाइ गर्नुपर्ने र काभ्रे सानोबाङ्थलीका दलित परिवारको सुरक्षा गर्नुपर्ने लगायतका माग गर्दै समितिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका संयोजक डम्बर विश्वकर्माले आजको २१औँ शताब्दीमा समेत मान्छेले मान्छेलाई छुवाछूतको आडमा विभेद गर्दै हत्या गर्दासमेत सरकारले दोषीमाथि कारबाही गर्न नसकेको गुनासो गर्नुभयो ।

सांसद तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष जीतु गौतम, नेपाल दलित सङ्घकी महासचिव लक्ष्मी परियार, नेपाल दलित मुक्तिमोर्चाका अध्यक्ष तिलक परियार र दलित नागरिक समाजका अगुवा पदम सुन्दास लगायतले छुवाछूतको घटनामा संलग्न दाषीमाथि कारबाही नगरेको खण्डमा आफूहरू तत्काल देशव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभयो

Bhansar Bivag
Argakhachi Cement