काठमाडौँ, १३ कात्तिक नेपालमा इ–लाइब्रेरीको विकास भए पनि सार्वजनिक पुस्तकालयमा आएर अध्ययन गर्ने पाठकको सङ्ख्यामा कुनै कमी आएको छैन ।
समाजका हरेक वर्ग, समुदाय, जातजाति, अपाङ्गता भएका, बालबालिका, वृद्घलगायतलाई विनाभेदभाव सेवा दिने उद्देश्यले विस २०६० मा स्थापित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा दैनिक १०० भन्दा बढी पाठक आउने गरेको जनाइएको छ ।
दशैँ तथा तिहारजस्ता केही पर्वमा पाठकको सङ्ख्या अलि घट्ने गरे पनि अरू बेला पाठकको सङ्ख्या मासिक तीन हजारभन्दा बढी नाघ्ने गरेको सो पुस्तकालयले जनाएको छ । पुस्तकालयका ऋतेश नेवाका अनुसार सो पुस्तकालयमा बौद्ध धर्मसम्बन्धी पुस्तक धेरै तथा हिन्दू धर्मसम्बन्धी पुस्तकलगायत इसाई धर्मसम्बन्धी बाइबलजस्ता पुस्तक पनि केही छन् । विद्यालय तथा कलेजका पुस्तकबाहेक अन्य अधिकांश पुस्तक उपलब्ध गराई पाठकको सेवा गरिएको नेवाले जानकारी दिनुभयो ।
डा नारायण खड्का नेतृत्वमा रहेको सो पुस्तकालयमा ५० हजारभन्दा बढी पुस्तक, प्रतिवेदन, पुस्तिका तथा पत्रपत्रिका छन् । पुस्तकालयलाई विस्तार गर्न नेपाल लाइब्रेरी फाउण्डेशन, क्यानडाले इ–लाइब्रेरी सञ्चालन गर्न सात कम्प्युटर र एक प्रिन्टर तथा ७३२ थान पुस्तक खरिद गर्न आर्थिक सहयोग गरेको थियो । सो पुस्तकालयले २०६७ सालदेखि इ–लाइब्रेरी सेवा पनि सञ्चालन गर्दै आएको छ ।
त्यस्तै ब्रिटिस काउन्सिलसँगको साझेदारीस्वरुप काउन्सिलले आठ हजार थान पुस्तक उपलब्ध गराएको थियो । पुस्तक अध्ययन कक्ष, बाल पुस्तकालय र विद्युतीय पुस्तकालय रहेको सो पुस्तकालयमा संस्कृत भाषा, नेपाल भाषा तथा हिन्दी भाषाका ५० हजार थान पुस्तक तथा शैक्षिक सामग्री त्यहाँ बसी पाठकले अध्ययन गर्न पाउनेछन् ।
पुस्तकालयमा अध्ययन गर्न आउनुभएका गुल्मीका पाठक रामबहादुर भण्डारीले कम्प्युटर तथा ल्यापटपको जमाना शुरु भए पनि त्यसबाट पाठकको पढ्ने तिर्खा नमेटिने भएकाले सार्वजनिक पुस्तकालयको महत्वमा कुनै कमी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तकालय गरिब तथा जेहेन्दार छात्रछात्राका लागि एउटा सहयोगी भएको छ ”, उहाँले भन्नुभयो ।
नेवाका अनुसार भर्खरका केटाकेटीले साहित्यको पुस्तक तथा पत्रपत्रिका अध्ययन गर्न रुचाउने तथा वृद्धवृद्धाले धार्मिक पुस्तक खोज्ने गरेको पाइन्छ । विसं २०६५ मा पुस्तक लेनदेन सेवा शुरु गरिएको थियो । हाल सो पुस्तकालयमा एक हजार ६०० सदस्य छन् । वार्षिक रु ३०० तथा धरौटी शुल्क रु एक हजार तिरेर सदस्य बन्न सकिन्छ । सरकारको प्रत्यक्ष अनुदानबाट सञ्चालन भएको सो पुस्तकालयका लागि वार्षिक रु २० लाखको बजेट छ । पुस्तकालयको विकासका लागि एशिया फाउण्डेशनको सहयोग तथा लेखक स्वयंबाट पाठकका लागि पुस्तक उपलब्ध हुने गरेको छ ।