काठमाडौँ, २० मङ्सिर । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले नेपालले वातावरण संरक्षणका लागि अपनाएका विभिन्न कार्ययोजनाका कारण जैविक विविधतामा उल्लेख्य उपलब्धि हासिल भएको बताउनुभएको छ ।
मेक्सिकोको क्यानकुनमा आइतबारदेखि सुरु भएको जैविक विविधता महासन्धिको १३औँ सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – वातावरण संरक्षणका लागि गरिएका प्रभावकारी प्रयासको फलस्वरुप नेपालको वन क्षेत्र ४० प्रतिशतबाट वृद्धि भई करिब ४५ प्रतिशतको हाराहारीमा पुगेको छ ।
मन्त्री भण्डारीले नेपालकोे संविधानमा जैविक विविधता र दिगो विकासबारे महत्वपूर्ण प्रावधान रहेको बताउँदै नेपालले राष्ट्रिय जैविक विविधता रणनीति र कार्ययोजना कार्यान्वयनमा विशेष जोड दिएको छ भन्नुभयो ।
“तत्काल हामी जैविक विविधताको प्रभावकारी संरक्षण र मुलुकको सङ्घीयताअनुसार वनसम्बन्धी ऐन तथा कानुन संशोधन गर्न लागेको छाँै,” उहाँले भन्नुभयो – त्यसका लागि स्थानीय जनता, समुदाय र सरोकारवाला निकायको भूमिका रहने गरी छलफलमा लगिएको छ ।”
मन्त्री भण्डारीले नेपालले गत एक हजार दिनदेखि गैँडाको शुन्य चोरी सिकारी मनाइरहेको बताउँदै “सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर गर्न नेपाल सक्रियताका साथ लागिपरेको छ ।”
वातावरण संरक्षणका प्रभावकारी कदमका बाबजुद पनि नेपालले सन् २०१५ को विनाशकारी भूकम्प, जलवायु परिवर्तन, वन डढेलो, प्राकृतिक विपद्ले जैविक विविधतामा चुनौती भोगिरहेको उहाँले बताउनुभएको मन्त्रीका निजी सचिवालयले जनाएको छ ।
मन्त्री भण्डारीको नेतृत्वमा त्यसतर्फ गएको नेपाली प्रतिनिधिमण्डलमा व्यवस्थापिका–संसद्अन्र्तगतको वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरी, वन सचिव कृष्णचन्द्र पौडेललगायत रहनुभएको छ