प्रकासित मिति: ५ फाल्गुन २०७३, बिहीबार १४:१९
विकास सञ्चारको विकासले नागरिक बढी लाभान्वित हुने जनाउँदै व्यवस्थापिका संसद, विकास समितिका सभापति रविन्द्र अधिकारीले सरकारसँग सञ्चारसँगै हुन नसके पनि विधायकसँग सँगै हिँड्न सक्ने बताउनु भएको छ । विकास पत्रकार मञ्चको प्रथम बार्षिकोत्सव अवसरमा आयोजित विकास पत्रकारिता सम्मान २०७३ मा बोल्दै सभापति अधिकारीले विकास पत्रकारले समाज सुधारमा गहिरो निगरानी गर्न सक्ने क्षमता राख्ने बताउनु भयो ।
विधागत पत्रकारितामा आवद्ध पत्रकारलाई विकासका मुद्दा र समीप्यता अद्यावधिक गराउने उद्देश्यले गएको बर्ष माघमा दर्ता भएको मञ्च स्थापना गर्न मैले नै प्रेरित गरेको हुँ, सभापति अधिकारीले भन्नुभयो — सञ्चारविना विकास सम्भव छैन ।
विकास सबैलाई आवश्यक छ तर विकासका समाचार हेर्ने, सुन्ने तथा पढ्ने नागरिक चाहना कम छ, त्यसैले यस प्रकारका समाचारको लेखन, प्रस्तुतीजस्ता विषयमा सबैको चासोमा पु¥याउन जरुरी छ । कार्यक्रममा बोल्दै पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, सरकारका पूर्व सचिव खेमराज नेपाल, जिल्ला विकास समिति काठमाडौंका स्थानीय विकास अधिकारी गोपालप्रसाद अधिकारी, नगरपालिकाका कार्यकारी सचिव कलानिधि देवकोटालगायतका बक्ताले सरकार र नागरिकवीच आपसी विश्वाशको वातावरण तयार गर्न पत्रकारले भूमिका खेल्नु पर्नेमा जोड दिनु भएको थियो ।
नेपालको पत्रकारिता परिस्कृत हुँदै गएको छ, केही समय अघिसम्म पत्रकारले सबै विषयमा जानकारी राख्नु पर्छ भन्ने थियो अव कुनै एक विशेष क्षेत्रमा समाचार लेख्नु पर्छ, नत्र समाचारको गहिराई प्राप्त हुन सक्दैन प्रेस काउन्सिलका अध्यक्ष वोर्ण बहादुर कार्की र संसदीय मामिला पत्रकार समाजका अध्यक्ष राजेन्द्र फुयाँलको तर्क थियो ।
कार्यक्रममा विकास पत्रकारिताको संस्थागत विकासमा योगदान पु¥याएवापत् पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झालाई सम्मान प्रदान गरिएको थियो भने मञ्चका अध्यक्ष गोपीकृष्ण ढुङ्गानाले हरेक बर्ष विकास पत्रकारिता पुरस्कार प्रदान गरिने घोषणा गर्नुभएको थियो ।