वासिङटन, अमेरिकामा खर्बपति रूपमा परिचित डोनाल्ड ट्रम्प सन् १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा जन्मिनुभएको थियो । सन् १९७१ देखि देशको धनाढ्यका रुपमा चिन्निनु थाल्नुभएका ट्रम्पले सन् १९८० मा न्युयोर्कमा ग्रान्ड हायात होटल खोलेर चर्चाको शिखर चढ्नुभएको थियो ।
उहाँलाई सन् २०१६ मा फोब्र्स म्यागजिनले अमेरिकाकै सर्वाधिक धनीको सूचीमा राखेको थियो भने विश्वमा ३२४ औँ स्थानमा पर्नुभएको थियो । उहाँको कुल सम्पत्ति करिब ३.७ अर्ब डलर रहेको फोब्र्सले २०१६ मा अनुमान गरेको थियो ।
राष्ट्रपति हुनुअघि उहाँको परिचय रियल स्टेट व्यवसायी (जग्गा जमिनसम्बसन्धि काम गर्ने ) टेलिभिजन व्यक्तित्व, लेखक र राजनीतिज्ञका रुपमा स्थापित थियो । कलेज पढ्दैदेखि उहाँ आफ्ना पिताले सञ्चालन गर्दै आउनुभएको रियल स्टेट व्यवसायमा संलग्न हुनु भएको थियो । उहाँले सन् १९७३ देखि परिवारको व्यवसायको जिम्मा लिनुभएको थियो ।
व्यापारिक घराना आफ्नो जिम्मामा आएपछि उहाँले आफ्ना सबै व्यवसायलाई ‘ट्रम्प अर्गनाइजेसन’का रुपमा सञ्चालन गर्नुभयो ।
व्यवसायीक जीवनमा ट्रम्पका अनेकौँ कम्पनीहरु टाट पल्टिएका थिए । जीवनभर र मादक पदार्थमा हात पनि नलाउनु भएका ट्रम्पले सन् २००६ मा आफ्नै कम्पनीमार्फत् “भोड्का” उत्पादन गर्नुभएको थियो ।
उहाँका ठूला दाजु फ्रेड अत्याधिक मादक पदार्थ पिउन (जड्याँहा) भएकाले मधिराकै कारण निधन भएको थियो । त्यसैले ट्रम्पले कहिल्यै मदिरा सेवन गर्नुभएको थिएन ।
तेह्र वर्षको उमेरमा सेनाको विद्यालयमा भर्ना हुनुभएका ट्रम्पले युनिभर्सटी अफ पेन्सिलभानियाबाट सन् १९६८ मा स्नातक पूरा गर्नुभएको थियो ।
सन् २०१५ देखि राजनीतिमा प्रवेश गर्नुभएका ट्रम्प सन् २०१६ जुलाई १९ मा राष्ट्रपतिको उम्मेदवारको रुपमा रिपब्लिकन पार्टीबाट चुन्निनुभएको हो ।
राष्ट्रपति पदका उम्मेदवार बनेदेखि चुनावी अभियानका क्रममा बारम्बार विवादमा परेपनि अन्ततःउहाँ अमेरिकाको ४५औं राष्ट्रपतिका रुपमा निर्वाचित हुन सफल हुनुभएको छ ।