काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावका लागि नेपाल परिवार दलले तीनवटै प्रदेशबाट उम्मेद्वारी दर्ता गराएको छ । आइतबार मनोनयन दर्ताको अवसरको सदुपयोग गर्दै परिवार दलले यही असार १४ गते हुने निर्वाचनका लागि प्रदेश नं. १, ५ र ७ का सबैजसो महानगर, उप–महानगरपालिकामा उम्मेद्वारी दर्ता गराएको छ । दलले अधिकांश नगरपालिका र गाउँपालिकाबाट पनि उम्मेद्वारको नाम मनोनयन दर्ता गरेको गरेको छ ।
परिवार दलले तराई–मधेशका १ वटा महानगरपालिका र ११ वटा उप–महानगरपालिकामा उम्मेदवार मनोनयन दर्ता गरेको हो । दलले प्रदेश नं. १ को एक मात्र महानगर विराटनगर महानगरपालिकामा तीर्थराज घिमिरेलाई मेयर तथा रश्मिला घिमिरेलाई उपमेयरमा मनोनयन दर्ता गरेको छ । त्यस्तै, धरान उपमहानगरमा राम बहादुर लिम्बु र सीता लिम्बु, इटहरी उप–महानगरमा सीतादेवी ढकाल र अशोक चौधरी, नेपालगन्ज उप–महानगरमा गया प्रसाद कुमाल र लक्ष्मी बस्नेत, बुटवल उप–महानगरमा चन्द्रसेन यादव र ज्ञानु गुरुङ, घोराही उप–महानगरमा सालिकराम चौधरी र जेनी अधिकारी, तुल्सीपुर उप–महानगरमा हेमराज अधिकारी र कुश्मिना चौधरी तथा धनगढी उप–महानगरमा खडक सिंह नागरी र निर्मला श्रेष्ठलाई क्रमशः मेयर र उपमेयर पदका लागि उम्मेद्वारी मनोनयन दर्ता गरिएको छ ।
तीनवटै प्रदेशका ३ सय ३४ स्थानीय तहमा दोस्रो चरणको निर्वाचन हुँदैछ । जसमध्ये परिवार दलले झण्डै १० जिल्लाका १ सय ५५ वटा स्थानीय निकायमा गरी ३०१ जना (यो समाचार तयार गर्दासम्म) उम्मेद्वारको नाम मनोनयन दर्ता गरेको दलका महामन्त्री विनोद डाँगीले जानकारी दिए । पूर्वका झापा, इलाम, ताप्लेजुङदेखि पश्चिमका बैतडी, डडेल्धुरा, कञ्चनपुरसम्मका सबै जिल्लाका स्थानीय तहमा परिवार दलले उम्मेदवारी दिएको छ । महानगरका मेयरदेखि वडा अध्यक्ष र सदस्य पदका लागि दलले उम्मेद्वारहरूको मनोनयन दर्ता गराएको हो ।
पहिलो चरणको निर्वाचनमा पनि उत्साहपूर्वक भाग लिएको परिवार दलले अपेक्षित उपलब्धि पनि हासिल गरेको थियो । परिवार दलका उम्मेद्वार केही स्थानमा सर्वसम्मत वडाअध्यक्षमा निर्वाचित भएका थिए भने झण्डै एक दर्जन स्थानीय तहमा निर्वाचनमार्फत वडास्तरमा जित हात पारेको थियो । विगत दुई वटै संविधानसभा निर्वाचनमा भाग लिएर खरो लोकतान्त्रिक प्रतिस्पर्धामा आइसकेको पार्टी परिवार दलले दुई पटक सरकारमा सहभागी भएर काम गर्ने अवसर समेत पाएको छ । शान्ति, मेलमिलाप, अग्रगामी लोकतन्त्रमा आस्था परिवार दलले जनतालाई पहिलो प्राथमिकता दिनुपर्ने पक्षमा अभियान नै चलाउँदै आएको छ ।