एउटै ब्यक्तिले हस्तकलाको ब्यवसाय गर्ने सोच बनाएका २३ हजार जनालाई सीपमूलक तालिम दिएको कुरा सुन्दा तपाईं पत्याउनु हुन्छ ? सुरुमा मलाई पनि पत्यार लागेको थिएन । उनलाई भेटेपछि तपाईंलाई पत्याउन कर लाग्छ । उनी हुन् कृष्टलको गहना बनाउने तालिम दिने बरिष्ठ प्रशिक्षक कमला सुवेदी । उनको बारेमा मैले इन्टरनेटमा महिला उद्यमीबारे समाग्री यार गर्न गुगल सर्च गर्दा थाहा पाएको थिएँ । कुनै अनलाइनले उनको बारेमा समाचार लेखेको थियो । त्यो अनलाइनका संपादकलाई फोन गरेर उनको सम्पर्क नम्बर लिएँ ।
थोरै समयमा हस्तकलामा फ्ड्को मारेकी ब्यवसायी हुन् कमला सुवेदी । सृजनशील क्रिष्टल हस्तकला उद्योग चलाउँदै आएकी छन् उनी । अहिले उनलाई एक छिन फुर्सद छैन । मैले सम्पर्क गर्दा बनेपामा आयोजित तालिममा सहभागीलाई प्रशिक्षण दिन जान उनलाई हतारोमा थिइन् । उनीसँग खाना खाने समयसमेत थिएन । खाना खाइसकेर बसमा चढेपछि कुराकानी गर्ने हामीले समय मिलायौं ।
बसमा चढेपछि उनीसँग कुराकानी सुरु भयो । उनीे मुख्यतः उद्योगी हुन् । त्यसबाहेक उनी क्रिस्टलका सामग्री बनाउन सिकाउने गिनेचुनेको प्रशिक्षक पनि । उनले अहिलेसम्म २२ हजार महिलालाई क्रिस्टलका सामग्री उत्पादन गर्ने तालिम दिइसकेकी छन् । ‘म आगामी ४ महिनाका लागि प्रशिक्षकका रुपमा बुक भइसकेकी छु,’ उनले त्यतिखेर भनेकी थिइन्, ‘उद्योग हेर्न अरुलाई राख्नु पर्ने अबस्था छ । समय दिनै भ्याउँदिन ।’
उनी गृहिणीहरुलाई क्रिस्टलबाट विभिन्न सामग्री उत्पादन गर्ने तालिम दिन्छिन् । तिनै महिलालाई कच्चा पदार्थ दिएर सामान बनाउन लगाउँछिन् । ती महिलाले बनाएको सामान उनको उद्योगले खरिद पनि गरिदिन्छ ।
सुरुमा १० हजार रुपैयाँ लगानी गरेर स्थापना गरिएको उनको उद्योगको आकार विस्तार हुँदैछ । उद्योमा सिजनअनुसार कामदारलाई रोगगारी दिएको उनी बताउँछिन् । उनलाई उद्योग संचालन गर्ने फुर्सदै छैन । मुलुकका सबै जिल्लाका घरेलु तथा साना उद्योग समितिले महिलालाई आत्म निर्भर बनाउन संचालन गर्ने तालिममा प्रशिक्षकका रुपमा निम्त्याउन पहिलो रोजाइमा पर्छिन उनी ।
उनीसँग कुरा गरेको केही समयपछि हाम्रो भेट भयो । त्यतिखेर उनी राजधानीको भृकुटी मण्डपमा चलिरहेको हस्तकला मेलामा आफ्ना उत्पादनको प्रदर्शनी गर्न ब्यस्त थिइन् । पछिल्लो २ महिना उनले मुस्किलले ४÷५ दिन घरमा बस्न भ्याइन् । उनी अघिल्लो महिना सल्यानमा घरले विकास समितिले आयोजना गरेको तालिममा ब्यस्त भइन् । त्यहाँ करिव २० दिन तालिम दिएर फर्कना साथ राजधानीमा अर्को तालिम तयारी अबस्थामा थियो । त्यसमा उनले तालिम नसक्दै ताप्लेजुङमा घरेलुले नै आयोजना गरेको तालिम दिन जान हतारो थियो । ताप्लेजुङमा १० दिने तालिम सकेर फर्कनासाथ उनी रसुवाको सदरमुकाम धुन्चे र कालिकास्थानमा हुने दुइ वटा तालिममा प्रशिक्षक बन्न गइसकेकी छन् ।
उनले कतिपय तालिममा प्रशिक्षक बन्ने अबसरलाई इन्कार गर्नु परेको छ । ‘एकै पटक धेरै तालिममा अफर आउँछन्,’ उनी भन्छिन्, ‘एक्लो ज्यानले कसरी भ्याउनु ?’ कतिपय तालिम आयोजकले उनको अनुकूल समयकै लागि भनेर सार्छन् । उनी महिलाहरुलाई सीपमूलक तालिम दिन नेपालका अधिकांश जिल्लामा पुगिसकेकी छन् ।
उनी क्रिस्टलका सामान मात्र उत्पादन गर्दिनन् । ‘फोहरमा फ्यांकिएका प्लास्टिकलगायत अरुका लागि उपयोगबिहीन विभिन्न बस्तुबाट ५६ प्रकारका सामग्री हामी उत्पादन गर्छौं,’ उनले भनिन् ।
सिलाईको कामबाट उनले व्यवसायमा हात हालेकी हुन् । उनले सन् २०११ मा बंगलादेश जाने अवसर प्राप्त गरिन् । त्यहाँको घुम्ने क्रममा उनले क्रिष्टलबाट बनेका हस्तकलाका सामानहरु प्रशस्त देखिन् । क्रिष्टलबाट सामान बनाउने तरिका उनले त्यहीँ सिकिन् । नेपाल फर्केर उनले यसैलाई ब्यवसाय बनाउने बिचार गरिन् । सिलाई व्यवसायलाई उनले ‘बाइबाइ’ गरिन् ।
अहिले उनको ब्यवसाय राम्रो फस्टाएको छ । यही व्यवसायले उनलाई नाम र दाम दुवै दिएको छ । उनले सन् २०१४ मा सरकारले प्रदान गर्ने उत्कृष्ट उद्यमी पुरस्कारसमेत यही ब्यवसायबाट प्राप्त गरिसकेकी छन् ।
उनले बंगलादेशबाट सिकेर आएपछि सुरुमा युवा स्वरोजगार कोषबाट आर्थिक सहयोग लिएर ५० जना महिलालाई क्रिष्टल हस्तकलाका सामान बनाउने तालिम दिइन् । त्यसपछि तालिमको धेरै ठाउँबाट माग बढ्न थाल्यो ।
महिलाले सिप सिकेपछि घरमा अरु कामसँगै यसलाई निरन्तरता दिन सक्ने उनी बताउँछिन् । ‘खाना पाक्दै गर्दा एउटा माला तयार गर्न सकिन्छ,’ उनी भन्छिन्, ‘सिरियल हेर्ने, दिनभरी यताउता गएर समय कटाउने दिदीबहिनीले तालिम लिएपछि खेर गएको समयलाई सदुपयोग गर्दै सामान बनाउन थाल्नुभएको छ ।’
महिला दिदी बहिनीलाई आत्मर्भिर तथा आर्थिक रुपमा सबल बनाउन क्रिस्टलका सामग्री उत्पादनले निकै सघाएको उनी बताउँछिन् । बजार राम्रो भएकाले सामान उत्पादन गरिसकेपछि बिक्रीको समस्या उनलाई छैन । देश तथा विदेशमा यस्ता सामान धेरै लोकप्रिय रहेको उनको दावी छ । ‘क्रिष्टलबाट बनेका श्रृंगारका सामान आर्कषक देखिने र लुटिने संभावना नहुने भएकाले आफूलाई सुरक्षित महसुस हुने हुँदा यसको प्रयोग बढ्न थालेको छ,’ उनले भनिन्, ‘विभिन्न समारोह, पार्टीमा महिलाले क्रिष्टल, पोते र मोतीबाट बनेका सामानको प्रयोग गर्न थालेकाले मेरा उत्पादनको माग बढ्न थालेको छ ।’ सस्तो भएकाले जुनसुकै आर्थिक अवस्था भएका महिलाले यी सामान प्रयोग गर्न सक्ने उनी बताउँछिन् ।
उनको उद्योगले बिशेष गरी महिलाले श्रृंगार गर्न प्रयोग गर्ने सामानसामान उत्पादन गर्दै आइरेहको छ । चुरा, टप, विभिन्न प्रकारका माला, पर्सलगायतका सामान उनी उत्पादन गर्छिन् ।
उनले नेपालभरि क्रिस्टल व्यवसायको सम्भावना राम्रो देखेकी छन् । नेपाल आउने विदेशी पर्यटकले चिनोको रुपमा तथा प्रयोग गर्न यस्ता सामान किन्ने गर्छन् । उनले सिप सिकाएका अधिकांश महिलाले आफ्नो सिपलाई आयआर्जनको माध्यम बनाएको उनको अनुभव छ ।
महिला आत्मनिर्भर नहुँदा घरेलु हिंसा, अन्यायको शिकार हुनु परेको कमलाको बुझाइ छ । महिला आत्मनिर्भर हुनसके आफ्नो तथा परिवारको खर्च जुटाउन सकिने उनको तर्क छ । आफैले सिप सिकेर आयआर्जन गर्न सके परिवारिक सम्बन्धसमेत मजबुत हुने उनको दावी छ । ‘महिलालाई आत्मनिर्भर बन्न सिपले सहयोग गर्छ’ उनले भनिन्, ‘त्यसैले हरेक महिला उद्यमशीलताको विकासमा लाग्नु पर्छ ।’