(सुशील दर्नाल)
काठमाडौँ, सरकारले धर्मसन्तान (धर्मपुत्र÷धर्मपुत्री) को रूपमा बालबालिका ग्रहण गर्ने व्यवस्थालाई व्यवस्थित बनाएको छ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्री व्यवस्थापन विकास समितिले पछिल्लोपटक नेपाली बालबालिकालाई धर्मसन्तानको रूपमा विदेशीलाई दिनेभन्दा पनि नेपालमै व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ ।
“समितिले सडक बालबालिका वा आफ्ना बाबुआमा नभएका जुनसुकै बालबालिका भए पनि सबैभन्दा पहिला नेपालभित्रै परिवारमै वा बालगृहमै पुनःस्थापना गर्न प्राथमिकता दिँदै आएका छाँै”– समितिका अध्यक्ष महेन्द्रप्रसाद श्रेष्ठले भन्नुभयो । पछिल्लो छ वर्षमा ३७७ बालबालिकालाई स्वदेशमा नै धर्मपुत्र, धर्मपुत्रीको रूपमा ग्रहण गरिएको छ भने ८९ जना बाललिकालाई विदेशीले ग्रहण गरेका छन् ।
समितिका अनुसार स्वदेशमै आ २०६६÷६७ मा ५० जना, आव २०६७÷६८ मा ४८, आव २०६८÷६९ मा ५७, आव २०६९÷७० मा ८६, आव २०७०÷७१ मा ७४ र आव २०७१÷७२ मा ६३ जना बालबालिका धर्मसन्तानको रूपमा ग्रहण गरिएको पाइन्छ ।
त्यसैगरी विदेशमा आव २०६७÷६८ मा डेनमार्क दुई, फ्रान्स एक, इटली २७, नर्बे दुई, स्पेन, १५, स्वीजरल्यान्ड एक, बेलायत दुई र अमेरिका दुई गरी ५२ जना बालबालिका धर्मसन्तानको रूपमा विदेशीले ग्रहण गरेका छन् ।
आव २०६८÷६९ मा इटली आठ, बेल्जियम चार, स्पेन पाँच, जर्मन दुई, भारत एक, बेलायत दुई, जापान एक र ब्राजिल एक गरी २४ जना बालबालिकालाई धर्मसन्तानको रूपमा विदेश लगिएको छ ।
त्यसैगरी आव २०६९÷७० मा क्यानडा दुई, जापान एक, रसिया एक, जर्मन एक, भारत एक र बेलायत एक गरी जम्मा सात जना, आव २०७०÷७१ मा भारत एक, नर्बे एक, अमेरिका एक गरी जम्मा तीन जना र २०७१ साउनदेखि २०७२ बैशाखसम्म स्लोभानिया एक र अमेरिका दुई गरी जम्मा तीनजना बालबालिकालाई विदेश लगिएको छ । २०५६ सालदेखि २०६७ पुससम्म दुई हजार ५४८ जना बालबालिकालाई धर्मसन्तानको रूपमा विदेश लगिएको समितिको भनाइ छ ।
विभिन्न समयमा धर्मसन्तानको रूपमा विदेश लगिएका बालबालिकाको सम्बन्धमा समितिले गरेको अनुगमनका क्रममा ती बालबालिकाको अवस्था अत्यन्त राम्रो रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार समितिले पछिल्लोपटक बालबालिकाको अभिलेख राख्ने काम गरिरहेको छ । आफ्नो सन्तान नहुने व्यक्ति वा भएको भए पनि कानुनबमोजिम अर्काको सन्तान वा परिवारविहीन बालबालिकालाई आफ्नो सन्तानको रूपमा अपनाइएका सन्तानलाई धर्मसन्तान भनी बुझ्ने गरिन्छ ।
परिवारविहीन बालबालिकाका लागि बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा २२ मा बालकल्याण अधिकारीद्वारा संरक्षक तोकी बालबालिकाको संरक्षण गर्नसक्ने व्यवस्था गरेको छ । त्यसैगरी बालबालिकासम्बन्धी नियमावली, २०५१, बालबालिकासम्बन्धी राष्ट्रिय नीति, २०६९, बालबालिकाको लागि राष्ट्रिय कार्ययोजना (२०६१÷६२–२०७१÷७२) मा धर्मसन्तानसम्बन्धी विभिन्न व्यवस्था गरिएको छ ।
आवासीय बालगहृ सञ्चालन तथा व्यवस्थासम्बन्धी मापदण्ड, २०६९, नेपाली बालबालिका विदेशी नागरिकलाई धर्मपुत्र, धर्मपुत्र ग्रहण गर्न दिनेसम्बन्धी शर्त तथा प्रक्रिया, २०६५ र अन्तरदेशीय धर्मपुत्रीय व्यवस्थापन विकास समिति (गठन) आदेश, २०६७ मा धर्मसन्तानसम्बन्धी विभिन्न व्यवस्था गरिएको छ ।