नवनिर्वाचित राष्ट्रपतिविरुद्ध अमेरिकाभरी प्रदर्शन

प्रकासित मिति: २६ कार्तिक २०७३, शुक्रबार १२:४६

सिङ्गटन,  निर्वाचन अभियानभरी आक्रामक शैलीमा प्रस्तुत हुनुभएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध बिभिन्न रुपबाट देशभर प्रदर्शन भै रहेका छन् ।
निर्वाचन अभियानको क्रममा आवेशमा आई उहाँले मेक्सिकालीहरुलाई “अपराधी”, अफ्रिका तथा अन्य मुलुकबाट आएका आप्रवासीहरुलाई “बदमास र देशद्रोही” भन्ने शव्दले आरोप लगाएपछि रुष्ट भएकाहरु र हिलारी क्लिन्टनको हारपश्चात् खिन्न भएका डेमोक्र्याटिक समर्थकहरु समेत मिलेर देशका सबैजसो ठूला, साना सहरहरु सर्वत्र जुलूस, नाराबाजी गर्दै ट्रम्प बिरोधी प्रदर्शनको श्रृङखलावद्ध अभियान नै शुरु भएको छ ।
निर्वाचन परिणाम घोषणापश्चात् शुरु शुरुमा देखिएको असन्तुष्टि र विरोध प्रदर्शनलाई राष्ट्रपति ट्रम्पले “निष्पक्ष र स्वतन्त्र निर्वाचनमा विजयी भएको राष्ट्रको बिरोध गर्न भरौटे प्रदर्शनकारीहरुको भीड, सञ्चारमाध्यमहरुले उक्साएर आएकाहरु, बदमासहरुको कुकृत्य” भनी ट्वीटरमा लेख्नु भएको थियो ।
नवनिवार्चित राष्ट्रपतिको ट्वीटर सन्देशले अरुमा पनि उत्तेजना बढ्न मद्दत पुग्यो र प्रदर्शनकारीहरु थपिँदै गई दुई तीन दिनभित्रै देशभरी नै विरोधको शृङ्खला फैलिन गै कतै कतै हिंसात्मकसम्म पनि भएको जनाइएको छः
पोर्टल्याण्ड, ओरिगानः ट्रम्प विरोधी व्यापक प्रदर्शनले यहाँ उग्ररुप लिन लागेको छ । उहाँको ट्वीटर सन्देशप्रति प्रतिकृया जनाउने क्रमले आगोमा ध्यु थप्ने काम गरेको छ ।
कतिपय अल्लारे ठिटाहरुको हातहातमा क्रिकेट वा हकीका ब्याट समेत हुनाले विरोध प्रदर्शन आपराधिक, विध्वंशात्मक र खतरनाक प्रवृत्तिमा परिणत हुने सङ्केत देखिएको कारण ओरिगान प्रहरीले यसलाई “दङ्गा” को दर्जा दिइ सोही अनुरुप नियन्त्रणका कदम अपनाइने जनाएको छ ।
सिकागोः देशका अन्य भागमा जस्तै ट्रम्पविरोधी व्यापक प्रदर्शन यहाँ पनि सल्केको छ । सिकागोमा अवस्थित “ट्रम्प टावर” बाहिर हजारौंको जुलूशले नगरको प्रमुख व्यापारिक केन्द्र वरिपरी सडक आवागमन अवरुद्ध पार्दै पैदलयात्रा गरेका छन् ।
केही प्रदर्शनकारीहरु ट्रम्पको स्वमित्वको ९८ तल्ले होटेल परिसर बाहिर भेला भै चर्को स्वरमा नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीहरुलाई कतिपय बाहिरिया व्यक्तिहरुले पनि हात हल्लाउँदै समर्थन जनाइ रहेका छन् ।
माइनापोलिसः सयौं प्रदर्शनकारीहरुको पैदलयात्राले गर्दा जहिले पनि ब्यस्त रहने माइनापोलिसको इन्टरस्टेट ९४ राजमार्गको दुइ लेनकै आवागमन अवरुद्ध भएको छ । माइनसोटा विश्वविद्यालयबाट निस्केका सयौं विरोध प्रदर्शनका कार्यक्रम र भीडका कारण ट्विन सिटिज, फ्र्याङकलिन एभिन्यु र सेन्ट पउल जस्ता ब्यापारिक नगरीहरु पनि दुई दिनसम्म ठप्प रहेका छन् ।
फिलाडेल्फियाः ट्रम्पविरोधी व्यापक प्रदर्शन सल्किएर दोस्रो दिन पनि फिलाडेल्फिया प्रभावित भएको छ । सिटी हलनजिक सयौं प्रदर्शनकारीहरु जम्मा भै “ट्रम्प विरुद्ध एकजूट होऔं”, “ट्रम्प हाम्रा राष्ट्रपति होइनन्”, “सबैका लागि सुरक्षित अमेरिका” जस्ता नारा अङ््िकत प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुका नाराले फिलाडेल्फिया महानगर गुन्जायमान भै रहेको छ ।
“हामीले नयाँ राष्ट्रपतिलाई होइन बरु एकअर्कालाई प्रेम, सद्भाव र सम्मान गर्नुपर्छ भन्ने सम्झौं” भन्ने नाराका साथ प्रदर्शनकारीहरुको भीडले फिलाडेल्फिया महानगरको पैदलयात्रा गरिरहेको छ । फिलाडेल्फिया प्रहरीले यस क्षेत्रको जनप्रदर्शन शान्तिपूर्ण भएको जानकारी दिएको छ ।
माइनसोटा स्टेट प्याट्रोल र सेन्ट पउल प्रहरी बलका जवानहरु साइरन बजाउँदै प्रदर्शनस्थल पुगे तापनि कुनै अप्रिय घटना भने हुन पाएको छैन ।
बाल्टिमोरः ट्रम्पको विजयप्रति असन्तुष्ट रहेका सयौं प्रदर्शनकारीहरुले यहाँ पनि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरु पैदलयात्रामा बाल्टिमोर फुटबल मैदान हुँदै नगरको व्यापारिक केन्द्र, इनर हार्बर तथा अन्य भागमा परिक्रमा गरिरहेका छन् ।
सडक आवागमन अवरुद्ध पारे तापनि विरोध प्रदर्शन चाहीँ शान्तिपूर्ण नै छ । बाल्टिमोर प्रहरीले प्रदर्शनकारीको संख्या ६ सय जति भएको अनुमान लगाएको छ । दुईजनालाई प्रहरीले नियन्त्रणमा लिए तापनि कुनै अभियोग भने लगाएको छैन ।
त्यसैगरी, सानफ्रान्सिस्को, लसएन्जलस, अस्टिन, ग्य्रान्ड –यापिड्स, मिसिगन लगायत मुलुकका सबैजसो नगर तथा महानगरहरुमा हजारौं जनताहरु ट्रम्प विरोधी नाराबाजी, जुलूस र प्रदर्शनीमा सडकमा उत्रेका छन् ।

Bhansar Bivag
Argakhachi Cement