अविरल वर्षाका कारण देशका विभिन्न सडकहरू अवरुद्ध हुन पुगेका छन् । यसै क्रममा पूर्व(पश्चिम राजमार्गअन्तर्गत नारायणगढ(बुटवल खण्डमा पुल बनाउने क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण स्थानीय खहरे खोलामा अहिले ठूलो बाढी आएको छ ।
नवलपुरको मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका तीन वटा डाइभर्सन बाढीले बगाएको हो । बिहान ६ बजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरू ठप्प छन् । बाटो खुलाउनको लागि केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जयराम पन्तले जानकारी दिए ।
यता निरन्तरको वर्षाकै कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध बनाएको छ ।
लोकमार्ग अन्तर्गत गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाको तुरतुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । तुरतुरेमा बर्सेनि पहिरो खस्ने गरेको छ । वर्षातले गलकोट नगरपालिका–१ दुदिलाभाटी र २ नरेठाँटी क्षेत्रमा समेत सडक क्षतविक्षत बनाएको छ ।