काठमाडौँ , उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद्को दुवै सदनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमले समृद्ध नेपाल सुखी नेपालीको मुख्य उद्देश्यको आधार तयार हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल उद्योग परिसंघले आजदेखि शुरु गरेको ‘उद्यमी संवाद’ कार्यक्रमको शुरुआत गर्दै उपराष्ट्रपति पुनले सरकारको नीति तथा कार्यक्रमको आधारमा आउने बजेटले जनताको आकांक्षा पूरा गर्ने बताउनुभयो ।
आर्थिक समृद्धिको मुख्य आधार औद्योगिक क्षेत्र भएको उल्लेख गर्दै उहाँले निर्वाचनमार्फत तीनै तहमा खडा भएको स्थानीय सरकारले मुलुकमा लगानीको वातावरण तयार भएको बताउनुभयो ।
कार्यक्रममा पूर्वउद्योगमन्त्री महेश बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनता तथा निजी क्षेत्रमा विश्वासको वातावरण सिर्जना गरेको भन्दै जनताको समृद्धिको सपना पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वमन्त्री नवीन्द्रराज जोशीले लगानीकर्तालाई उत्साहित नगर्दासम्म औद्योगिक वातावरण नबन्ने भएकाले सरकारले निजी क्षेत्रलाई उत्साहित गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।
परिसंघका अध्यक्ष हरिभक्त शर्माले सस्तोमा आयात गरेर प्रयोग गर्ने भन्दा स्वदेशमै उत्पादित गुणस्तरीय वस्तुको प्रयोग गर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताउनुभयो ।