अक्षय तृतीया एवम् नेपालमा वैदिक अभियान पुनर्जागरण सुरु भएको आठौँ वार्षिकोत्सवको अवसर पारेर नेपाल महर्षि वैदिक फाउन्डेसनले अक्षय तृतीया विशेष कार्यक्रम गरेको छ ।
कार्यक्रममा अक्षय तृतीया जुनसुकै काम आरम्भ गर्न शुभ दिन भएकाले नेपालमा वैदिक अभियान पुनर्जागरणको सुरुआत सात वर्षअघि अक्षय तृतीयाकै दिनमा गरिएको जानकारी गराइएको थियो । विसं २०६६ को अक्षय तृतीयाका अवसरमा स्थापना भई काम सुरु गरेको फाउन्डेसनले हाल देशभरका ५० गुरुकुलमा योग, ध्यान र यज्ञका माध्यमबाट राष्ट्रमा शान्ति स्थापनाको अभियान चलाएको छ । कार्यक्रममा फाउन्डेसनका अध्यक्ष एवम् पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले महर्षि महेश योगीको वैदिक ज्ञानको नेतृत्व गरेर नेपालले विश्व शान्तिका लागि योगदान गर्न सक्ने विचारलाई सफल बनाउने अभियानमा फाउन्डेसन जुटेको बताउनुभयो ।
फाउन्डेसनका सिद्धि एवम् ध्यान शिक्षक माधवप्रसाद अर्यालले महर्षि पतञ्जलिको विचारको सूक्ष्मतम स्थानमा सबैभन्दा बढी शक्ति हुन्छ भन्ने कुरा नै भावातीत ध्यान र सिद्धि कार्यक्रम भएकाले प्रत्येक मानव खुसी र सुखी हुन यसको अभ्यास आवश्यक रहेको बताउनुभयो ।
सिद्धि तथा ध्यान शिक्षिका एवम् नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनका अध्यक्ष कल्पना घिमिरे, ध्यान शिक्षक गोपालकुमार मैनाली, ज्योतिषी रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, आचार्य कृष्णशरण खनाल, ऋषिराम पौडेललगायतले अक्षय तृतीयाका दिन सुरु गरिएको काम सफल हुने भएकाले नेपालमा सुरु गरिएको वैदिक राष्ट्र बनाउने अभियानले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो