काठमाडौँ, ६ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले चीन विरोधी गतिविधि रोक्न नेपालले जस्तोसुकै कदम चाल्ने बताउनुभएको छ ।
उपराष्ट्रपति कार्यालय बहादुर भवन पुग्नुभएका नेपालका लागि चिनियाँ राजदूत यु होङसँग भएको शिष्टाचार भेटमा उहाँले नेपाल र चीन घनिष्ठ छिमेकी राष्ट्र भएको बताउँदै नेपाल सधँै एक चीन नीतिप्रति प्रतिबद्ध छ, नेपाली भूमिमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने नेपाल सरकारको नीति छ भन्नुभयो ।
उहाँले भन्नुभयो,“मञ्जुश्री, भृकुटी, अरनिको, ह्वेन साङ तथा फा स्यानलगायत अन्य ऐतिहासिक विभूतिले प्रवद्र्धन गरेको दुई देशबीचको सम्बन्ध अहिले नङ र मासुका रुपमा विकसित भएको छ ।”
उपराष्ट्रपतिले आफ्नो चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको औपचारिक निमन्त्रणापत्र चीनका उपप्रधानमन्त्री वाङ याङमार्फत हस्तान्तरण गरेको स्मरण गराउँदै नेपाली जनता चीनका राष्ट्रपतिलाई स्वागत गर्न आतुर छन् भन्नुभयो ।
चीनको ‘एक क्षेत्र एक मार्ग’को कार्यक्रमप्रति नेपालको समर्थन रहेको बताउँदै उहाँले भन्नुभयो – “एक क्षेत्र एक मार्गको कार्यक्रमबाट नेपालले पनि फाइदा लिनेतर्फ ध्यान दिनुपर्छ ।”
उपराष्ट्रपति पुनले संविधान जारी भएपछि नेपालमा लगानीमैत्री वातावरण बनेकाले नेपालमा लगानी गर्नका लागि राजदूत मार्फत चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभयो ।
भूकम्पपछि अवरुद्ध तातोपानी नाका सञ्चालन गर्न चीनको ध्यानाकर्षण गराउँदै उहाँले राजदूत होङको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत युले चीन सरकार र चिनियाँ जनताले नेपाललाई सधैँ उच्च महत्व दिने गरेको बताउँदै दुई देश रणनीतिक साझेदारीका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “चीनले दक्षिण एसियाली मुलुकसँगको सहकार्यलाई बढाइरहेको छ”उहाँले भन्नुभयो ।
उहाँले ब्रिक्स सम्मेलनको क्रममा चीनका राष्ट्रपति सि जिन पिङ र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालबीचको भेटमा राष्ट्रपति सिले अनुकूल समय मिलाएर नेपालको भ्रमण गर्ने बताउनुभएकाले आफूले जतिसक्दो चाँडो उहाँको भ्रमण गराउन प्रयास गर्ने बताउनुभयो ।
राजदूत युले नेपालमा विदेशी लगानीका लागि वातावरण बन्दै गएकाले चीन सरकारले निजी क्षेत्रलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने नीति लिएको छ भन्नुभयो । तातोपानी नाका खोल्नका लागि अध्ययन भइरहेको समेत उहाँले जानकारी दिनुभयो