काठमाडौं । शान्ति अभियन्ता एवं कोरियाली प्रसिद्ध दैनिक पत्रिका सेगे टाइम्स्का अध्यक्ष डा. जुन योङ्ग छाले विश्व शान्ति अभियान परिवारबाटै शुरु गरिनुपर्ने बताएका छन् । व्यक्ति असल भए मात्र समाजमा सद्भाव कायम गर्न सकिने बताउँदै उनले वैज्ञानिक युगको ऐरा अब सकिँएको दाबी गरे ।
आइतबार शान्तिका लागि युवा एवं विद्यार्थी संस्थाले साँखुमा आयोजना गरेको ‘देश विकासका लागि युवा–विद्यार्थीको भूमिका’ नामक अन्तरक्रिया कार्यक्रममा बोेल्दै डा. योङ्ग छाले यस्तो बताएका हुन् । आजको समयमा विश्वभरि नै नैतिक शिक्षाको आवश्यकता खट्किएको बताउँदै उनले भने, ‘अहिलेका असल युवा र विद्यार्थी नै भोलिको देशका कर्णाधार हुन् । त्यसैले उनीहरूमा आजैबाट नैतिक शिक्षा र असल गुणको विकास गराउनुपर्ने दायित्व हामी सबैको हो ।’
कार्यक्रममा शंखारापुर नगरपालिकाका प्रमुख सुर्वण श्रेष्ठले आफ्नो नगर क्षेत्रभित्र नैतिक शिक्षाको अभियान नै सञ्चालन गर्ने बताए । ‘मान्छे नैतिकवान् बनेमा समाज समृद्ध बन्न कुनै समय लाग्दैन,’ उनले भने, ‘पछिल्लो समय पश्चिमा संस्कृति भित्रिएपछि नेपाली संस्कृतिमा विकृति पनि बढिरहेको छ, यस समस्याप्रति हामी सबै गम्भीर हुनुपर्ने बेला आएको छ ।’ उनले विश्व शान्तिको आधार परिवार नै भएकोले परिवार समृद्ध बने मात्र समाज सुन्दर बन्ने बताए ।
सोही नगरपालिकाका उप–प्रमुख शुक्रलक्ष्मी श्रेष्ठले पनि परिवार राम्रो बन्न श्रीमान्–श्रीमतिकै महत्वपूर्ण भूमिका रहनेमा जोड दिइन् । उनले पारिवारिक र नैतिक शिक्षाको अभियानले मान्छेलाई अनुशासित बनाउने बताइन् ।
कार्यक्रममा एफएफडब्लुपीयु सेन्ट्रल एसियाका उपाध्यक्ष डा. यून चान वुक, युपीएफ नेपालका महासचिव विनोद डाँगी, कार्प नेपालका अध्यक्ष रुपसिंह भण्डारी, भाग्योदय माविका प्रिन्सिपल रोशन बसी, कर्मशील महिला समाजका अध्यक्ष मदनकुमारी बर्जाचार्य, शान्तिदूत एलपी श्रेष्ठलगायतले परिवारको महत्वका बारेमा प्रकाश पारे ।
दूई दिनसम्म चलेको कार्यक्रममा विश्व शान्ति तथा एकीकृत परिवार संघका राष्ट्रिय प्रशिक्षक काशीनाथ खनालले पारिवारिक मूल्य–मान्यताका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा साँखु क्षेत्रका १५० जनाभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रम संयोजक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।