अनिसा गिरी
मोरङ असार १ । मोरङमा सबैभन्दा चल्तीको पर्यटकीय केन्द्र बेलबारी ९ को बेतना सिमसार पर्यटकको गन्तब्य क्षेत्र बनेको छ । महेन्द्र राजमार्गसँगै जोडिएर रहेको सिमसार क्षेत्रमा बिदाको दिन त ज्यादै भीड हुन्छ । १७४ दशमलव ९१ हेक्टरमा फैलिएको सामुदायिक वनमा ११ हेक्टर क्षेत्रफल सिमसार क्षेत्र रहेको छ । ७ हेक्टरमा पोखरी क्षेत्र छ । हिउँदमा साइबेरियादेखि दुर्लभ प्रजातिका चराहरू आउने गरेकोले पनि यो क्षेत्र आकर्षक गन्तव्य बनिरहेको बेतना सिम्सार सामुदायिक बन समिति का अध्यक्ष डम्बर बहादुर बस्नेतले बताएका छन् ।
बेतना सामुदायिक वन उपभोक्ता समितिको संरक्षणमा रहेको सीमसार क्षेत्रको अर्को आकर्षण विश्वकै दुर्लभ प्रजातिका कछुवा हुन् । सिमसारभित्र एक सय केजीभन्दा बढी तौलका कछुवाहरू सजिलै अवलोकन गर्न सकिने बस्नेतले बताए । यहाँ बिभिन्न जातका माछा, जीवजन्तु, वनस्पति सिमसार क्षेत्रका थप आकर्षण हुन् सिमसार क्षेत्रमा नील गाई, विभिन्न प्रजातिका बाँदर, लोखर्के, बन बिरालो, सर्प, अङ्जिगर, चाइनिज मुसा, खरायो, लाटोकोसेरो, हुँचिल, दुम्सी, चित्तललगायतका जीवजन्तु संरक्षण गरिएको उनले बताए ।
यस सिमसार क्षेत्रमा वातावरण सौन्दर्य्विदहरूको सहयोगमा कमिलो, विभिन्न प्रजातिका हाडखोरहरूको प्रतिमा समेत बनाएर राखिएको छ । जसले उक्त क्षेत्रको फरक पहिचान दिएको डम्बर बस्नेत बताए । सिमसारमा रहेको पानीले करिब एक हजार बिगाहा जमीनलाई बाह्रै महिना सिञ्चित गरेको छ । वि.सं. २०५७ मा बेतौना जलउपभोक्ता समूह गठन गरी पानी उपयोग गर्दै आएका किसानहरूले समेत सो सिमसार क्षेत्रको संरक्षण गर्दै आएका छन् ।
बेतना महोत्सवको आयोजना गरेपछि बेतना पोखरीमा डुँगासमेत राखिएको छ । वनभोजमा आउने समूहले ४ सय रुपियाँ र प्रतिव्यक्ति प्रवेश शुल्कबापत १० रुपियाँ तिर्नुपर्ने व्यवस्था गरिएको बस्नेतले बताए । यस सिमसार क्षेत्रमा करीब एक दिनमा दुई हजार भन्दा बढी मानिसहरु घुमफिर गर्न आउने गर्दछन । यहाँ इलाम, धरान, विराटनगर, इटहरी आदि ठाउँ बाट दैनिक रुपमा मानिसहरु आउने गर्दछन
अध्यक्ष बस्नेतले अहिलेसम्म मनोरञ्जनका लागि मात्र उपयोग हुँदै आएको सो क्षेत्रलाई अब नयाँ अवधारणाका साथ जीव तथा पक्षीको अनुसन्धान केन्द्रका रुपमा विस्तार गरिने लागिएको बताए । आन्तरिक पर्यटकका लागि एउटा गन्तव्यका रुपमा विकास भइरहेको सिमसार क्षेत्रमा बाह्य पर्यटकसमेत तान्नका लागि विभिन्न कार्ययोजना बनाउन थालिएको बस्नेतले जानकारी दिए ।