पाल्पामा जन्ती बोकेको जिप दुर्घटना, चारको मृत्यु, १६ घाइते

प्रकासित मिति: २५ माघ २०७३, मंगलवार ०४:२१

पाल्पा, २५ माघ । पाल्पाको दोभान गाविस–४ श्रीडाँडामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर छ। विवाह सकेर फर्केको ज्यामिरे र डान्सिङ्कोटको पञ्चेबाजा बजाउने टोली बोकेको  लु १ ज २६८९ नम्बरको जिप सोमबार राति करिव ८ बजे श्रीडाँडा गाउँ भन्दा तलको कच्ची बाटोमा दुर्घटना भएको दोभानका युवा अगुवा राजेश श्रेष्ठले जानकारी दिए ।  जिप सडकदेखि करिव १ सय ३० मिटर तल भिरमा पल्टेको हो । श्रेष्ठका अनुसार २ वटा शव भिरमा अड्केको छ । घाइतेको उपचारको लागि भैरहवा मेडिकल कलेजमा लगिएको छ । जिपमा २० जना सवार थिए । कच्ची सडकको घुम्तिमा जिप अनियन्त्रित भएर तल खसेको श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेहरूमा दोभान–२ ज्यामिरे र डान्सिङ्कोटका युवा छन् ।दुर्घटनामा दोभान-२ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Bhansar Bivag
Argakhachi Cement