पीस एम्बेसी भवनमा यसरी रमाए बालबालिका

प्रकासित मिति: २८ जेष्ठ २०७५, सोमबार १६:३०

काठमाडौं । पीस एम्बेसी भवन नक्सालमा बालबालिकाको भीड थियो । शनिबारको दिन पीस एम्बेसीमा जम्मा भएका बालबालिकामध्ये कसैले नृत्य देखाए, कसैले गीत गाएर आफ्नो प्रतिभा देखाए ।
त्यति मात्रै होइन, केहीले कविता वाचन गरेर बालबालिका शान्ति क्षेत्रका प्रतिक हुन् भनेर सन्देश पनि दिए । पीस एम्बेसी भवन नक्सालमा भएको कार्यक्रममा बालबालिकाहरुले आफ्नो क्षमता अनुसारको प्रतिभा देखाए । त्यो अवसर जुटाइदिएको थियो विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालले ।
आजका बालबालिका सबैका साझा भविष्य हुन र उनीहरूको विकास र जीवनस्तर सुधारको लागि सामूहिक प्रतिवद्धता र साझा प्रयास आवश्यक छ । त्यसैले बिभिन्न ठाउँबाट ४६ जना बालबालिका एकै ठाउ भेला गराएर बालबालिकाबीच आत्मियता बढाउने र उनीहरुलाई सहि ज्ञान दिन कार्यक्रमको आयोजना गरिएको थियो ।
पारिवारिक विखण्डन, सामाजिक विसंगति र साँस्कृतिक बिचलनले बालबालिकामा पारेको असर र प्रभाव बढदै गइरहेकोबेला यस्ता सामुहिक बालबालिकाको भेलाले अभिभावकलाई समेत सचेत गराउन मद्धत पुग्ने कार्यक्रम संयोजक उषा गिरीले बताईन् ।
कामकाजी अभिभावकले बच्चालाई समय दिन नसक्दा मोबाइल, ट्याब र ल्यापटपजस्ता सामग्री किनिदिने गरेका छन् । तिनमा बालबालिकाहरूले गेम खेल्न, च्याट गर्न, गीत सुन्ने गरेको कारण उनीहरुले आफुमा भएको प्राकृतिक क्षमता देखाउन नपाउने समस्या बढदै गएको बेला यस्तो कार्यक्रमले बालबालिकालाई फाईदा पुग्ने गर्छ ।
केन्द्रीय बालकल्याण समितिले गरेको एक अध्ययनअनुसार ४१ प्रतिशत बालबालिका दैनिक ३० मिनेट इन्टरनेटको प्रयोग गर्छन् । सानै उमेरमा यस्तो बानी बस्नाले बच्चाको आँखामा समस्या हुनुको साथै एकहोरो हुने गरेको अध्यनले समेत देखाएको छ ।
कार्यक्रममा सामाजिक अभियान्ता सरिता थापा डाँगीले बालबालिकाले उमेरअनुसार के गर्न हुने के गर्न नहुने भन्नेबारे जानकारी दिँदै बालबालिकालाई असल संस्कार र संस्कृतिबारे जानकारी गराएकी थिइन् ।
उनले बालबालिकालाई सानै उमेरदेखि परिवारको महत्व घरमा रहेका पारिवारिक सदस्यहरुको सम्बन्धको बारेमा जानकारी गराउन सकिए बालबालिका गलत कार्यमा नलाग्ने बताइन् ।
विश्व प्रशिद्ध शान्तिवादी आध्यात्मीक नेता डा.सन् म्याङ मुनले शुरु गरेको शान्ति शिक्षाको बारेमा समेत जानकारी दिँदै डाँगीले बालबालिकालाई असल संस्कार दिन बाबुआमा नै रोल मोडल बन्नुपर्ने कुरामा जोड दिएकी थिइन् ।
कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र र उपहार दिँदै विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले भने, ‘स्वभावैले बालबालिका चञ्चल हुन्छन्, खेल्न खोज्छन्, खान खोज्छन् । निर्वाध रूपमा रमाउन खोज्छन् । तर हामी आफ्नो सोच र परिपक्वताको ‘फ्रेम’ भित्र उनीहरूलाई जबरजस्ती कोच्न खोज्छौँ । यो गर्न नहुने बताए । अध्यक्ष पौडेलले मौसम अनुसार कुन लुगा लगाउने भन्ने कुरा बालबालिकाले नजान्न सक्छ । खानाको प्रकृति अनुसार कुन खाने र कति खाने, थाहा नपाउन सक्छ । यस्तो बेला गाइड गर्ने कार्य अभिभावले गर्नुपर्छ ।’
बालबालिकाको सास्कृतिक प्रस्तुतिले अभिभावकलाई समेत हौसला मिलेको थियो । यतिमात्र हैन, कार्यक्रममा खेलाइएको गेममा बालबालिकाले उत्साहपूर्वक सहभागिता जनाएका थिए । शनिबार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म ४६ जना बालबालिका एकसाथ रमाएका थिए ।
विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालसँग आवद्ध सदस्यहरुका छोरा छोरीलाई भेला गराएर कार्यक्रम गरिएको थियो । बेला बेलामा यस्ता कार्यक्रमहरु संस्थाले देशब्यापी रुपमा गदै आएको छ । यसअघि पोखरा, धरान, बिराटनगरमा पनि कार्यक्रम सफलतापूर्वक गरिसकेको छ ।

Bhansar Bivag
Argakhachi Cement