काठमाडौँ, ११ फागुन । व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले भूकम्पपछिको पुनःनिर्माणमा राजनीति घुसेको आरोप लगाउनुभएको छ ।
धादिङको सलाङ–५ मैदानमा अवस्थित पञ्चमुखी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति अधिकारीले सो आरोप लगाउनुभएको हो । उहाँले भूकम्पपछि क्षतिग्रस्त विद्यालयहरुको पुनःनिर्माणका गठन भएको निकायले प्रभावकारी काम गर्न नसकेको गुनासो गर्दै विद्यालय पुनःनिर्माणमा दाताहरुको मात्र मुख ताक्ने प्रवृत्ति त्याग्न विद्यालय सञ्चालकलाई सुझाव दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री इटनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय भवन निर्माणमा सहयोग जुटाउने जापानी संस्था किताक्यूसु वाइएमसीएका महासचिव केनिचिरो ओगावाले जापानमाा एक÷एक रुपैयाँ गरेर सङ्कलन गरिएको रकमको सदुपयोग भएको बताउनुभयो ।