पुरचौडीको खडीखेतमा पहिलोपटक गाडी

प्रकासित मिति: ८ मंसिर २०७३, बुधबार ०२:४२

बैतडी, ८ मङ्सिर । जिल्लाको दुर्गम क्षेत्रका रुपमा रहेको बैतडीको पुरचौडी हाटमा रहेको खडीखेत बजारमा मङ्गलबार पहिलोपटक गाडी पुगेको छ ।

स्थानीय व्यापारीको आफ्नै लागतमा राताशिला मन्दिरदेखि खडीखेतबजार सम्मको सडक निर्माण गरेपछि गाडी पुगेका हुन् । खडीखेत बजारका ११ जना व्यापारीको पहलमा खडीखेतमा सडक पुगेको सडक निर्माण समितिका अध्यक्ष जनकराज जोशीले जानकारी दिनुभयो ।

“हाटको वसन्तपुर बजारसम्म सडक पुगेको र खडीखेतसम्म आफ्नै लगानी गरेर सडक निर्माण गरेको हो”, उहाँले भन्नुभयो, “पाँच लाखको लागतमा दुई किलोमिटर सडक निर्माण गरिएको हो ।” खडीखेत बजारमा सडक पुगेसँगै आज पहिलोपटक जिपसमेत पुगेको छ । पहिलोपटक गाडी पुग्दा हर्षित भएको स्थानीयवासी लोकबहादुर बोहराले बताउनुभयो ।

खडीखेत बजारमा जिप पुग्दा स्थानीय बासिन्दाले बाजागाजासहित फूलमालाले स्वागत गरेका छन् । साथै, सडक निर्माणका बेला जमिन उपलब्ध गराउने ३१ जना जग्गाधनीलाई समेत धन्यवाद ज्ञापन गरिएको सडक निर्माण समितिका अध्यक्ष जोशीले बताउनुभयो ।

Bhansar Bivag
Argakhachi Cement