पूर्वमन्त्री गुप्ता फेरि पक्राउ

प्रकासित मिति: २० भाद्र २०७३, सोमबार १५:३४

काठमाडौं । जबरजस्ती रकम असुली गरेको आरोपमा पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई ललितपुर प्रहरीले फेरि पक्राउ गरेको छ । फोन गरेर अपहरणको धम्की दिँदै एक महिला उद्यमीसँग ५० लाख रुपैयाँ मागेको अभियोगमा गुप्तालाई प्रहरीले ललितपुरको ताल्सीखेलबाट सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेका गुप्तालाई अपहरण तथा शरीर बन्धक उद्योगमा अदालतबाट चार दिनको म्याद लिएर हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए । उनका अनुसार गुप्ता आफैंले फोन गरेर धम्क्याउँदै पैसा मागेको र नदिए अपहरणको धम्की दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
व्यापारी पवन सांघाई अपहरण अभियोगमा पक्राउ परेर तीन वर्ष जेल बसेका गुप्ता गत वर्षको साउन २ गते छुटेका थिए । उनले सद्भावना पार्टी युनाइटेड गठन गरेका थिए । गुप्ता पहिलो संविधानसभा सभासद् तथा पूर्वआपूर्तिमन्त्री पनि हुन् ।

Bhansar Bivag
Argakhachi Cement