प्रधानन्यायधीश नियुक्तका लागि संसदीय समिति गठनको तयारी : मन्त्री तामाङ

प्रकासित मिति: १३ बैशाख २०७५, बिहीबार १५:५४

काठमाडौँ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संंवैधानिक आयोगको पदाधिकारी नियुक्तका लागि विशेष संसदीय सुनवाइ समिति गठनको प्रक्रिया रहेको जानकारी गराउनु भएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा कार्यक्रममा उहाँले चाँडै नै समिति गठन गरेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्त गरिने बताउनुभयो । ‘‘प्रधानन्यायाधीशको नियुक्तिमा ढिलाइ भइरहेको छ । यसमा हामी गम्भीर भएका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘प्रधानन्यायाधीशको नियुक्तिबारे हामी विशेष समिति गठनको प्रक्रियामा छौँ, सुुनुवाइ समिति गठन भएपछि सुनुवाइ गरेर हामी संवैधानिक परिषद्मा सिफारिश गर्छौं ।’’

संसद् नबस्दा प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भएको भन्दै उहाँले कायममुकायम प्रधानन्यायाधीश भए पनि न्याय सम्पादनमा कुनै बाधा तथा अड्चन नपरेको बताउनुभयो ।

मन्त्री तामाङले सरकार मुलुकमा सुशासन कायम गर्दै समृद्धि हासिल गर्नेतर्फ अग्रसर भएको धारणा राख्नुभयो । न्यायाधीशहरुको सम्पत्ति तत्काल सार्वजनिक गर्नका लागि आफूहरु यतिबेला कानून निर्माणमा जुटेको उहाँले जानकारी गराउनुभयो । उहाँले सरकारको पहिलो प्राथमिकता नै कानून निर्माण भएकाले सोही अनुसार अहिले अहिले मन्त्रालयले संघ, प्रदेशलाई चाहिने कानून निर्माण भइरहेको बताउनुभयो ।

‘‘हामी अहिले नयाँ कानून निर्माण चरणमा रहेका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘नयाँ कानून निर्माण गरिसकेपछि संविधानसँग बाझिएका कानूनलाई संशोधन गरिनेछ ।’’ उहाँले यस वर्षलाई मन्त्रालयले कानून वर्ष हो लिएको समेत बताउनुभयो ।

त्यस्तै उहाँले फौज्दारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्ने पक्षमा आफू रहेको बताउनुभयो । मन्त्री तामाङले न्यायाधीशहरुले नेतालाई भेट्नु नौलो कुरा नभएको जानकारी गराउनुभयो ।

Bhansar Bivag
Argakhachi Cement