काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपेली संघ (ईयू) को निर्वाचन पर्यवेक्षण प्रतिवेदन त्रुटीपूर्ण रहेको भन्दै कडा आपत्ति जनाएका छन् । उनले सो प्रतिवेदन सच्याउन समेत माग गर्दै नेपाललाई नहेप्न चेतावनी दिएका छन् । नेपालको संविधानको भावना, मर्म र प्रावधानलाई होच्याउने गरी सार्वजनिक गरिएको ईयूको सो प्रतिवेदनले नेपालको अस्मितामाथि नै प्रहार गरेको प्रधानमन्त्री ओलीले बताए ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आयतबार आयोजना गरेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले निर्वाचन पर्यवेक्षणका नाममा ईयूले नेपालको संविधानका भावनामा आँच पु¥याउने गरी प्रतिवेदन ल्याएको जनाउँदै भने, ‘नेपाललाई होच्याएको हो ? हेपेको हो ? मैले र नेपाली जनताले हेपिएको महसुस गरेका छौँ, ईयूलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुस् !’
पर्यवेक्षणका नाममा आई धर्म प्रचार गर्ने र सो गर्न नपाएपछि त्यसको प्रतिशोध प्रतिवेदनमा लिएको भन्दै प्रम ओलीले भने, ‘नेपाल सामाजिक न्याय र समानताका लागि काम गर्ने सार्वभौमसत्तासम्पन्न राष्ट्र हो । कसैले कुनै भ्रम नपाले हुन्छ, म अहिले आग्रह मात्र गर्छु ।’
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन हुने÷नहुने दुविधाका बीचमा ११ महिनाका अवधिमा विभिन्न समस्या हुँदा पनि आठ निर्वाचन सम्पन्न गर्न सफल भएको बताए ।
नियोकका अध्यक्ष हिमालयशम्शेर जबराले निर्वाचनमा मतदान शिक्षा कमजोर भएको र गोप्य मतदान भनिए तापनि पैसा लिएर मत माग्ने काम भएको विचार व्यक्त गरे ।