गायक आनन्द कार्कीको स्वर तथा अभिनय
काठमाण्डौ । विगत तीन दशकदेखि निरन्तर रुपमा नेपाली साङ्गीतिक दुनियाँमा मीठा मीठा गीतहरू छोड्न सफल नेपाली साङ्गीतिक आकाशका अमर नक्षेत्र गायक आनन्द कार्की गजल गायनलाई नेपालमा भित्र्याउने पहिलो गायक हुन् । नेपालमा गजल गायनका पिता पनि भनेर पनि चिनिने गायक कार्कीको हाल सम्म १५ वटा एल्बमहरू बजारमा आइसकेका छन् । तीन दशक भन्दा लामो आफ्नो साङ्गीतक यात्राका दौरानमा गजल गायन लगायत, नेपाली सुगम सङ्गीत, नेपाली चलचित्र, आधुनिक लगायत विविध विधामा उनले आफ्नो गायन कौशल प्रस्तुत गर्दै एक अब्बल गायकको छवि बनाउन सफल भइसकेका छन् ।
गायक कार्कीको पछिल्लो एल्बम‟लभ यू फरेभर” हो । लामो समयदेखि गीत सङ्गीतका दौरानमा देश भित्र र बाहिर व्यस्त रहनेगरेका गायक कार्की तीन हजार भन्दा बढी गीतहरूमा आफ्नो स्वराङ्कन गर्न सफल भइसकेका छन् । हाल सम्म दश हजार भन्दा बढी स्टेज कार्यक्रमहरू पस्कन सफल बरिष्ठ गायक कार्कीले भर्खरै मात्र लण्डनमा तीन महिना भन्दा लामो समय आफ्नो प्रश्तुती दिएर फर्केका हुन् । हाल गायक कार्की समाजसेवी तथा गीतकार घनबहादुर थापाको एल्बम नबिर्स बजारमा ल्याउने तरखरमा जुटेका छन् जसमा गायक कार्कीलाई गायिका त्रयहरू क्रमशः अन्जु पन्त, निकिता थापा र सविना कार्कीले पनि गायनमा साथ दिएका छन् भने सङ्गीत भर्ने काम भने शक्तिवल्लभ, चर्चित सङ्गीतकार राजनराज सिवाकोटी, अर्जुन पोखरेल, शिखर सन्तोष, दीपक शर्मा, ताराप्रकाश लिम्बु ले गरेका छन् । एल्बम ‟नबिर्स” को नामाङ्कन भने गीतकार थापाकी धर्मपत्नी कृष्णा थापाको परिकल्पनामा जुरेको हो ।
एल्बम ‟नबिर्स”कै एक चर्चित गीत ‟फूल्न त फूल्यो गुराँसै फूल्यो अफ्ठ्यारो भीरैमा …” बोलको गीतको म्युजिक भिडियो लोकार्पण गरिएको छ । जसको निर्देशन चर्चित भिडियो निर्देशक दीपेन्द्र के.सी. को निर्देशनमा कलाकारहरू क्रमशः अनिल थापा, श्रृष्टि गिरी लयायत पूराना रङ्गकर्मी उमेश मायालुको अभिनय रहेको छ भने स्वयं गायक आनन्द कार्कीको पनि विशेष अभिनय देख्न पाइन्छ । भिडियोमा काठमाण्डौं र भक्तपुरका विभिन्न मनोरम स्थानहरूको दृष्याङ्कनहरू देख्न सकिन्छ ।