बढुवामा अन्याय गर्ने नियत होइन : गृहमन्त्री

प्रकासित मिति: १ श्रावण २०७४, आईतवार ११:०२

काठमाडौं, १ साउन । डिआइजी बढुवा प्रक्रियामाथि असन्तुष्टि जनाउँदै सामाजिक सञ्जाल र मिडियामा आलोचना बढेपछि गृहमन्त्री गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले स्पष्टिकरण दिएका छन् । शनिबार भएको एआईजी, डिआईजी र एसएसपी पदको बढुवामा नियतबस कसैलाई अन्याय नगरिएको उनले स्पष्ट पारेका छन् । बढुवा सिफारिस गर्दा कतिपय मर्कामा परेको जानकारी आफूलाई प्राप्त भएको भन्दै उनले यो प्रहरी संगठनको हितमै भएको हुँदा नियतवश कसैलाई अन्यायमा नपारिएको बताए ।
५९ औं प्रहरी सञ्चार दिवसको अवसरमा आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले अन्यायमा परेकालाई पछि सम्बोधन गर्ने बताए । शनिबार नेपाल प्रहरीको बढुवा सूची सार्वजनिक भएको थियो, जसमा केही कनिष्ठ अधिकारीहरु पनि बढुवामा परेको र वरिष्ठ छुटेको भन्दै असन्तुष्टि आइरहेका छन् ।
मन्त्री शर्माले प्रहरी संगठनलाई संस्थागत रुपमा बढुवाले न्याय गरेको दाबी गरेका छन् । ‘रोकिएको बढुवा खुल्दा संस्थाको हितमा भएको छ,’ उनले भने, ‘कसैलाई मर्का परेको होला त्यसमा फेरि पनि सम्बोधन गरौंला ।’ उनले नेपाल प्रहरीको कम्युटर शाखा र सञ्चार शाखालाई समन्वयन गर्न सकिने बताउँदै त्यसका लागि योजना ल्याउन उनले निर्देशन दिए । जनतालाई सूचना दिने नाममा प्रहरीका उपल्ला तहका अधिकारीहरुले गर्ने प्रोपोगान्डातर्फ संकेत गर्दै मन्त्री शर्माले त्यस्ता काम बन्द गर्न निर्देशन समेत दिए ।
प्रहरी प्रधान कार्यालयबाट जनतालाई आवश्यक सूचना तत्काल दिन निर्देशन दिँदै शर्माले भने, ‘सूचना दिने भनेको जनतालाई नै हो । पत्रकार त माध्यम मात्र हुन् तर हामीले सूचना दिने भनेपछि पत्रकार मात्र बुझेका छौं र सूचना दिनदेखि डराइरहेका छौँ ।’ मन्त्री शर्माले प्रहरी तालिम केन्द्रले अनुसन्धानको क्षेत्रमा पनि काम गर्नुपर्ने धारणा राखेका थिए ।

Bhansar Bivag
Argakhachi Cement