काठमाडौं, ८ पुस – पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एसिया प्यासिफिक समिटको उदेश्य क्रिश्चियन धर्मको प्रचार गर्ने नरहेको भन्दै आफ्नो सहभागिता सही भएको बताउनुभएको छ ।
पार्टीको स्थायी समितिको बैठकमा आईतबार बोल्दै उहाँले एसिया प्यासिफिक समिटले क्रिश्चियन धर्मको प्रचार नगरेको बताउनुभएको हो । ‘यो कार्यक्रम धर्म प्रचारका लागि होइन । तर आममानिसलाई त्यसरी बुझाउने काम भयो । धार्मिक उद्देश्य भएको भए हामी जाँदैनथ्यौं’ उहाँले भन्नुभयो ।
युनिभर्सिल पिस फेडेरेशनको आयोजनामा मंसिर १४–१७ सम्म भएको समिटको संयोजन नेता नेपालले गर्नुभएको थियो । स्थायी समिति सदस्यहरूले समिटको कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति र माधवकुमार नेपालको अध्यक्षतामाथि प्रश्न गरेका थिए ।
‘पार्टी र मुलुकको धर्म निरपेक्षताको अडानम प्रतिवद्ध छ । हाम्रो सबै धर्म र संस्कृतिप्रति सम्मान छ । हाम्रा ऐतिहासिक रितिरिवाजमा सम्मान छ’ उहाँले भन्नुभयो– ‘धर्मको नाममा विद्वेष फैलाउन कतिपयले नियोजित प्रचार गरे ।’
‘यसका कतिपय कार्यक्रमको बढी आलोचना भयो’, नेता नेपालले समिटका दौरान होली वाइन वितरण गरिएको घटनालाई इङ्गित गर्दै भने, ‘त्यसप्रति हाम्रो ध्यान गएको छ।’
सम्मेलनमा कतिपय मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुख सहभागी हुने भएकाले प्रधानमन्त्रीले निम्तो पठाएको स्पष्ट पार्नुभयो । ‘अरू देशका राष्ट्र र सरकार प्रमुख सहभागी हुने भएपछि कार्यक्रममा प्रधानमन्त्रीले जानुपर्ने भयो । निम्तो पनि गर्नु पर्ने अवस्था बन्यो’ उहाँले भन्नुभयो ।