लुक्ला बिमानस्थलबाट बिरामी लिन जुविङ गएको माउन्टेन एयरको हेलिकप्टर ठूलो दुर्घटना हुनबाट जोगिएको छ। आइतबार बिहान जुविङ गाविस गएको उक्त हेलिकप्टरको इञ्जिन बिरामी बोकेर उड्नेवित्तिकै फेल भएको थियो।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार जुविङ–५ का जसबहादुर राई भीरबाट लडेर गम्भीर घाइते भएपछि उनलाई लिन नाइल एम एलक्यु हेलिकप्टर बिहान करिब ७ बजेतिर जुविङ गएको थियो।
बिरामी बोकेर उड्नेवित्तिकै इञ्जिन फेल भएपछि हेलिकप्टर खोलामा आपतकालीन अवतरण गरिएको शर्माले जानकारी दिए। ‘उड्नेवित्तिकै इञ्जिन फेल भएपछि खोलामा आतकालीन अवतरण गरिएको हो,’ शर्माले भने।
शर्माका अनुसार बुक्सा डाँडानजिक सीसाखोलामा हेलिकप्टर आपतकालीन अवतरण गराइएको छ। अवतरणका क्रममा हेलिकप्टरको अगाडिको भागमा क्षति पुगेको तर हेलिकप्टरमा रहेका सबै सकुशल रहेको उनले बताए।
हेलिकप्टर पाइलट सुरेश थापाले उडाएका थिए। बिरामी राईसँग उनका एक जना आफन्त थिए। ‘सबै जना सकुशल रहेका छन्, त्यहाँबाट उनीहरूलाई उद्दार गरेर लुक्ला ल्याइसकिएको छ,’ शर्माले भने।
बिरामी लिन गएको हेलिकप्टर बिग्रिएर आपतकालीन अवतरण गराइएपछि उद्दारका लागि लुक्लाबाटै श्री एयरलाइन्सको अर्को हेलिकप्टर गएको थियो।