काठमाडौँ । नेपाल परिवार दलको राष्ट्रव्यापी प्रशिक्षण, सदस्यता वितरण र संगठन विस्तारको १०० दिने महाअभियान बिहिबारबाट शुरु हुँदै छ । सातै प्रदेशबाट एकसाथ अभियानको शुभारम्भ गर्ने तयारी रहेको दलका महामन्त्री विनोद डाँगीले जनाए । डाँगीका अनुसार दलले मङ्सीर १५ गतेदेखि फाल्गुण १७ गते सम्मको १०० दिनलाई ‘राष्ट्रव्यापी प्रशिक्षण, सदस्यता वितरण र संगठन विस्तार महाअभियान’का रुपमा सञ्चालन हुनेछ ।
अभियानमा दलले ‘एक दिन ः १००० सदस्य’ को नारासहित १०० दिनमा राष्ट्रव्यापी प्रशिक्षणमार्फत् कम्तिमा १ लाख साधारण सदस्य बनाउनेछ । सबै जिल्ला मातहतका नगरपालिका तथा उल्लेख्य गा.वि.स. हरूमा संगठन विस्तार गरिने दलले जनाएको छ । जसका लागि प्रदेश नं १ मा महामन्त्री विनोद डाँगी, प्रदेश २ मा प्रवक्ता सन्तोष कुमार पौडेल, प्रदेश ३ मा प्रदेश संयोजक गणेश कुमार श्रेष्ठ, प्रदेश ४ मा प्रकाशबाबु थापा, प्रदेश ५ मा अशोक कुमार चौधरी, प्रदेश ६ मा रुपसिंह भण्डारी र प्रदेश ७ मा नवीन जैशीको नेतृत्वमा अभियान सञ्चालन हुनेछ ।
महाअभियानका क्रममा राष्ट्रिय महाधिवेशनद्वारा पारित राजनैतिक प्रतिवेदनको प्रभावकारी कार्यान्वयनको लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई आग्रह गरिएको छ । ‘जनताको आदेश ः संमृद्ध प्रदेश’, ‘सम्पूर्ण समस्याको हल ः घरघरमा परिवार दल’, ‘आर्थिक क्रान्तिको दशक सफल पारौँ’, ‘आर्थिक–नैतिक–वैचारिक आन्दोलन सफल पारौँ’ लगायतका नारासहति अभियानलाई देशव्यापी रूपमा क्रियाशील गरिने महामन्त्री डाँगीले बताए ।
तुरुन्त तिनै तहको निर्वाचनको मिति तोक्न र तयारी गर्न पार्टीको तल्लो स्तर सम्म दलका अभियान र राजनीतिक दर्शनलाई पु¥याउने लक्ष्य रहेको छ । पार्टीले कार्यकर्ता उल्लेख्य रूपमा वृद्धि र जनताको घरदैलोमा प्रभावकारी प्रचार–प्रसार गर्दै आगामी तीनै तहका चुनावका लागि समेत अभियानलाई सक्रिय बनाउन लागेको हो ।