बुद्ध एयरले गर्यो सुर्खेत–काठमाडौं उडान सेवाको परीक्षण

प्रकासित मिति: २१ चैत्र २०७४, बुधबार १३:२९

कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई उडान सेवाको परीक्षण सम्पन्न भएको छ ।
बुद्ध एयरको ४७ सिट क्षमताको ८० आर ४२ को जहाजले सुर्खेत–काठमाडौँ सिधा हवाई उडान सेवाको परीक्षण सम्पन्न गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका कार्यालय प्रमुख विनोदकुमार पन्तले जानकारी दिनुभयो ।
“जहाजले परीक्षण पूरा गरेको छ, त्यसको प्रतिवेदन आउन भने बाँकी छ, तर पनि अब सुर्खेत–काठमाडौँ सिधा हवाई सेवा शुरु हुन्छ”, कार्यालय प्रमुख पन्तले भन्नुभयो ।
नागरिक उड्डयन कार्यालय सुर्खेतका वरिष्ठ अधिकृत विद्या शाहले एनएआइएन कल साइनको जहाज बिहान ९ः४५ बजे धावन मार्गमा अवतरण गरेको र ११ः०० बजे यहाँबाट उडान भरेको जानकारी दिनुभयो । उहाँका अनुसार सम्भवतः नव वर्ष २०७५ वैशाख १ गतेदेखि बुद्ध एयरको सुर्खेत–काठमाडौँ नियमित उडान शुरु हुनेछ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई सेवा नजोडिएको भन्दै यसका लागि प्रदेश सरकारलाई यहाँका नागरिकले माग गर्दै आएका थिए । त्यही विषयलाई लिएर दुईसाताअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको ध्यानाकर्षण गराउनुका साथै निजी कम्पनीसँग पनि पहल गर्नुभएको थियो । उहाँहरुकै सहमतिमा हवाई उडान सेवा जोडिएको छ ।
परीक्षण सेवा गरिएको हवाईको सुर्खेत–काठमाडौँ भाडादर कति भन्ने अहिले कायम नगरिएको जनाइएको छ । परिक्षणमा बुद्ध एयरको तर्फबाट मानव संसाधन निर्देशक खगेन्द्र बहादुर बस्नेतको पनि सुर्खेत पुग्नुभएको थियो ।

Bhansar Bivag
Argakhachi Cement