१० मंसिर, काठमाडौं । प्रतिनिधी तथा प्रदेश सभा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भएका ३२ जिल्लामा मतदान समय सकिएको छ ।
बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ती जिल्लाका मतदाताले केन्द्रमा पुगेर मतदान गरेका थिए । निर्वाचन अयोगले साँझ ५ बजेभित्र सम्बन्धित मतदान केन्द्रभित्र पुगेका मतदाताले मतदान गर्न पाउने जनाएको छ । त्यसैले केहि मतदान केन्द्रहरुमा मतदान प्रक्रिया अन्तिम चरणमा छ । तर, अधिकांश मतदान केन्द्रमा मते मतदान प्रक्रिया सकिएर मतपेटिका सील गरे सदरमुकाम पठाउने गरिदैछ ।
स्थानीय तह निर्वाचनमा समग्रमा ७३ प्रतिशत मत खसेकोमा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करिव ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ । उच्च पहाडी र हिमाली ३२ जिल्लामा आइतबार सकिएको निर्वाचनमा छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रहृयो । सोलुखुम्बुको तिङलाका जनताले मतदान बहिस्कार गरेका छन् भने पश्चिम रुकुमको बाफीकोटस्थित रत्न मावि मतदान केन्द्रमा मतपत्र जलाइएपछि त्यहाँ प्रतिनिधिसभातर्फ मंसिर २१ गते पुनः मतदान हुनेछ मतदान गर्न तोकिएको समय समाप्त भएपछि मतदान अधिकृतले सो मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतपत्र रहेका सबै मतपेटिकाको मतपत्र खसाल्ने प्वाल बन्द गरी आयोगले उपलब्ध गराएको सुरक्षण सिल लगाउने छनद ्।
यसो गर्दा मुचुल्का तयार गरिनेछ र त्यस्तो मुचुल्कामा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको समेत सहीछाप गराउने छन्।
मतदान अधिकृतले मतदानको काम समाप्त भएपछि मतपत्रको फाँटवारी तयार गर्छन्। त्यसरी फाँटबारी तयार गर्दा पहिलो हुने निर्वा्चित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन र समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि प्रयोग भएका मतपत्रको छुट्टाछुट्टै फाँटवारी तयार गरिन्छ। फाँटवारी तयार गरेपछि सो फाँटवारीमा मतदान अधिकृतले सहीछाप गर्नु पर्नेछ र सो स्थानमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको समेत सहीछाप गराउने छन्।
मतदान अधिकृतले मतदान केन्द्रमा मतदानको काम समाप्त भएपछि कागजपत्र र मतपत्रहरू छुट्टाछुट्टै खाममा बन्द गरी लाहाछाप लगाउने छन्। मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिले समेत आफ्नो लाहाछाप लगाउन चाहेमा लगाउन दिइन्छ।
मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिले सहीछाप नगरेमा मुचुल्कामा सोही व्यहोरा जनाई मतदान केन्द्रमा उपस्थित अन्य दुई जना व्यक्तिको सहीछाप गराउनु पर्नेछ।
मतपेटिकासँगै आउन सक्ने मतदानको काम समाप्त भएपछि मतदान अधिकृतले मतदान केन्द्रबाट मतपेटिका लिएर मतगणना हुने स्थानतर्फ जाँदा उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिहरू मतपेटिकाको सुरक्षाको लागि मतदान अधिकृतसँगै जान चाहेमा मतदान अधिकृतले आफूसँग आउन दिनु पर्ने व्यवस्था छ। त्यसैगरी ११ दिनसम्म मतपेटिका राखेको कोठा बाहिर बस्न चाहेमा बस्नको लागि अनुमति दिनु पर्ने व्यवस्था छ ।