डोटी, जिल्लाको जोरायल गाउँपालिका–१ घण्टेश्वरकी इन्द्रा ओली अचेल निकै खुशी हुनुहुन्छ । दुई वर्ष पहिलासम्म बारीमा सिस्नो उम्रँदा लौराले चुटेर फाल्ने इन्द्रा अहिले त्यही सिस्नोको संरक्षणमा जुट्नुभएको छ ।
समुदायमा सिस्नुलाई गरीबले खाने वस्तु हो भनेर हेला गरिन्थ्यो । बहुसरोकारवाला वन कार्यक्रमले समुदायलाई सिस्नुको महत्व बुझाएपछि सिस्नु संरक्षणमा जुटेको इन्दाले बताउनुभयो । छुँदा पनि पोल्ने सिस्नो यत्तिको उपयोगी होला भन्ने कल्पनासमेत नगरेकी इन्द्राले हिजोआज प्रतिकिलो आलो सिस्नो रु ४० मा बेच्न थाल्नुभएको छ ।
घण्टेश्वरकी इन्द्रा सिस्नोको उपयोगिता देखेर दङ्ग परेजस्तै डोटीकै केआइसिंह गाउँपालिका–५ रानागाउँकी भागा नेपाली सालको पातको उपयोगिता देखेर मख्ख पर्नुहुन्छ । सालको पात प्राङ्गारिक मल बनाउन मात्र उपयोग हुन्छ भन्ने ठान्नुभएकी भागाले सालको पात बिक्री हुन थालेपछि यसको थप उपयोगिताबारे जानकारी पाउनुभएको छ ।
भागा बस्तुभाउ चराउन जङ्गलमा जाँदा पनि सालको पात सङ्कलनमा लागिरहनु हुन्छ । उहाँ भन्नुहुन्छ, “जङ्गलमा गोरु चराउन जाँदा, सालको पात टिपेर आम्दानी पनी गरिरहेकी छु । दिनमा १०÷१५ किलो पात सङ्कलन गर्न सकिन्छ प्रतिकिलो १५ रुपैयाँमा बिक्री हुन्छ ।” इन्द्रा र भागा मात्रै होइन नयाँ प्रविधिको प्रयोग गरेर स्थानीय स्रोतसाधन बाटै राम्रो आम्दानी लिन सकिने भएपछि उहाँहरू जस्तै धेरै महिला खुशी भएका छन् ।
‘फवार्ड नेपाल र ग्रामीण विकास केन्द्र’को साझेदारीमा वनमा आधारित वहुसरोकारवाला वन कार्यक्रमअन्तर्गत डोटी जिल्लामै पहिलोपटक सिस्नो प्रशोधन र दुनाटपरी उद्योग शुरु भएको हो । केआइसिंह गाउँपालिकाको रानागाउँ र जोरायल गाउँपालिकाका–२ छत्तिवनमा दुनाटपरी उद्योग, सोही गाउँपालिकाको सरस्वतीनगर, घण्टेश्वर र सायलगाउँपालिकाको डौडमा सिस्नु प्रशोधन उद्योग तथा बडीकेदार गाउँपालिका–१ जोरायलको छत्तिवनमा दुनाटपरी उद्योग सञ्चालनमा रहेका छन् ।
जिल्लाकै ग्रामीण भेगमा सानारूपमा शुरु भएका उद्योगले सानै परिमाणमा भए पनि आम्दानी शुरु गरेका महिला वहुसरोकारवाला कार्यक्रम देशबाटै बाहिरिएपछि दुःखी पनि भएका छन् । नमूना सिस्नो प्रशोधन उद्योगकी सञ्चालक इन्द्र ओली भन्नुहुन्छ, “कामको शुरुआत राम्रै भएको छ, तर यसलाई निरन्तरता दिनसक्ने र दिगोपनामा हाम्रा लागि चुनौती छ । कार्यक्रम न बाहिरिएको भए धेरै राम्रो गर्न सकिन्थ्यो ।” सन् २०२२ सम्म चल्ने भनिएको उक्त कार्यक्रम हाल नेपालबाटै बाहिरिएको छ ।
खप्तड प्रवेशद्वारमा घरवास सञ्चालन
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको प्रदेशद्वार बगलेकमा घरबास (होमस्टे) सञ्चालन गरिएको छ । खप्तड जाने पर्यटकलाई सहजताका लागि पूर्वीचौकी गाउँपालिका वडा नं २ मा घरबास सञ्चालन गरिएको हो ।
झिग्रानासम्म सडक पुगेका कारण बगलेका पाँच घरमा घरबास सञ्चालन भएपछि त्यहाँ जाने पर्यटकलाई सहजता हुन थालेको छ । खप्तड जाने पर्यटकलाई सहजताका लागि घरवास सञ्चालन गरिएको खप्तड निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षको शुरुआतको समय खप्तड घुम्न जाने मौसम नभए पनि त्यहाँ घुम्न जानेको सङ्ख्या भने बढिरहेको छ । चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुञ्ज अवलोकन गरेकामा एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेका छन् ।
सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेका बगलेकमा पर्यटककै सेवा सुविधाका लागि होमस्टे सञ्चालन गरिएको हो । खप्तड क्षेत्रमा पर्यटन गतिविधि बढाउन खप्तड प्रवेशद्वार बगलेकमा घरबास सञ्चालन गरिएको एक जना घरबास सञ्चालक कैलाश साउदले बताउनुभयो ।
डोटीको पूर्वीचौकी गाउँपालिका होटल व्यवसायी सङ्घ डोटी र पूर्वीचौकी गाउँपालिका–२ को संयुक्त लगानीमा बगलेक गाउँका पाँच घरमा घरबास शुरु गरिएको हो । स्थानीय बासिन्दालाई आवश्यक सामग्री दिनुका साथै तालीम दिएर होमस्टे सञ्चालन गरिएको हो । सो क्षेत्रका १० घरमा होमस्टे सञ्चालन गर्ने व्यवस्था मिलाउने काम पनि भइरहेको छ ।
तत्काल ठूलो लगानीमा होटल स्थापना गर्न नसकिने भएकाले पर्यटकको सहजताका लागि घरबास सञ्चालन गरिएकाले यस पर्यटकको सङ्ख्या अझ बढ्ने आशा गरिएको होटेल व्यवसायी सङ्घ डोटीका अध्यक्ष दीपकबहादुर खड्काले बताउनुभयो ।
खप्तड क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै जङ्गली जनावरसमेत हेर्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणीधाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ । खप्तड क्षेत्रमा जेठमा गङ्गा दशहरा मेला तथा जनैपूर्णिमाका दिन जात्रा लाग्छ । जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र नेपालका अन्य क्षेत्रबाट समेत पर्यटकको घुइँचो लाग्ने गरेको छ । खप्तड क्षेत्रमा पर्यटकको सहजताका लागि आगामी दिनमा पनि लगानी गर्ने योजना पूर्वीचौकी गाउँपालिकाको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो ।– विमलबहादुर विष्ट