ललितपुर, ६ मङ्सिर । पुँजी र बजारसम्मको पहुँच नहुँदा महिला उद्यमीले छुट्टै उद्योग स्थापना गर्न कठिन पर्ने उद्यमी महिला र सरोकार भएकाहरुले बताएका छन् ।
ललितपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा उद्यमी महिलाले महिला आफैँ पुँजी खोज्न लाग्नुपर्ने र सरकारले पनि महिला उद्यमीलाई सहुलियत व्याजदरमा ऋण लगायत सुविधा दिनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले महिलाले ऋण खोजेर व्यवसाय सुरु गर्न सक्ने अवस्था नभएको बताउनुभयो । महिलाका नाममा व्यवसाय सञ्चालन गर्दा राज्यले दिने छुटका कारण धेरै महिलाका नाममा उद्योग स्थापना भएका छन् । उहाँले भन्नुभयो, “तर तिनै उद्योगमा पनि निर्णय महिला आफँैले गर्न पाउँदैनन् ।”
नेपाल उद्योग वाणिज्य सङ्घका सदस्य कमला श्रेष्ठले विवाहिता महिलाले आफूले काम गरेर कमाएको पैसा के गर्ने भनेर श्रीमान्लाई सोध्ने अवस्था रहेकामा चिन्ता व्यक्त गर्नुभयो ।
महिला उद्यमी महासङ्घका अध्यक्ष रीता भण्डारीले महिला उद्यमीलाई पहुँच र सूचना दुवै नभएको बताउनुभयो । ललितपुर उद्योग वाणिज्य सङ्घ, महिला उद्यमी विकास समितिका संयोजक लजना श्रेष्ठले महिला उद्यमीको सङ्ख्या कम भएको र भएकाहरुको पनि उद्योगको व्यवस्थापनसम्म पहुँच नभएको बताउनुभयो ।