भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनलाई लिएर बन्द हुने भनिएको अन्नपूर्ण पदमार्ग वैकल्पिक रुट दिँदै खुला गरिएको छ ।
जोमसोम उद्योग वाणिज्य मुस्ताङ अध्यक्ष तथा होटल एशोसिएसन मुस्ताङ अध्यक्ष खगेन्द्र तुलाचनको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मुस्ताङमा भएको पहल अनुसार जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै, वैशाख २८ गते दिउँसो ४ देखि भोलिपल्ट दिउँसो १२ बजेसम्ममात्र मुक्तिनाथ परिसर क्षेत्रको करिब ७ सय मिटर वरपरमात्र सर्वसाधारणको आवत्जावत्मा रोक लगाइने निर्णय भएको छ ।
प्रजिअ शिविर पौडेलका अनुसार अन्नपूर्ण पदयात्रामा जाने पर्यटक थोरङ्लापासबाट मुक्तिनाथ हुँदै फकिर्नुपर्ने भएपछि छोङगुर, झोङ, पुटाङ हुँदै कागबेनी झर्ने वैकल्पिक रुट तय गरिएको हो ।
मनाङबाट मुस्ताङ आउने र मुस्ताङबाट मनाङ जाने पदयात्रीलाई नियमित गराई सुचारु गर्न मुक्तिनाथ मन्दिर परिसर बाहिरको वैकल्पिक बाटो प्रयोग गरी कागबेनी रुट तोक्ने निर्णय भएको जनाइएको छ ।