काठमाण्डौ । एमालेले माओवादीसँगको अविश्वास हटाएर ९ वैशाखमै पार्टी एकता घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादी अध्यक्ष प्रचण्डमा एकतापछिको सम्मानजनक हैसियतबारे कुनै आशंका भए हटाएर ९ वैशाखमै एकताको निर्णय गर्ने म्यान्डेट पार्टी एकता संयोजन समितिलाई दिएको छ,
एकताका लागि कार्यदलमा केन्द्रीय कमिटी २ सय ९९ सदस्यीयसहित १० वटै तहका कमिटीको संख्या टुंगिएको छ । तर, दुई पार्टीबाट कति–कति प्रतिशत अनुपातमा सहभागिता रहने विषय टुंगो लाग्न बाँकी छ । यद्यपि, दुवै पार्टीका नेताहरूले एकतामा नीति, सिद्धान्त र लक्ष्य महत्वपूर्ण रहेकाले कसको कति प्रतिशत सहभागिता भन्ने विषय ठूलो नरहेको बताउँदै आएका छन् । एमाले माओवादीको जनमत र निर्वाचनमा बाँडिएको सिटलाई ध्यान दिँदै अनुपात मिलाउने पक्षमा छ । तर, माओवादी भने त्यसरी जाँदा विलयको अर्थ लाग्ने भन्दै समानतालाई आधार मान्नुपर्ने अडानमा छ । दुई दलका दुई रणनीतिकै कारण कार्यदलले टुंग्याउन नसकेका विवादित विषय शीर्ष नेता सम्मिलित संयोजन समितिमा आइपुगेको छ ।
पार्टी विधान मस्यौदाको सुरुकै प्रस्तावनामा जनआन्दोलन र जनक्रान्तिका उपलब्धि लेखिए पनि ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने विषय टुंगिएको छैन । जनक्रान्ति लेखिसकेपछि जनयुद्धको भाव समेट्ने एमालेको अडान छ भने माओवादीले ‘जनयुद्ध’ शब्द नै राख्नुपर्ने तर्क गर्दै आएको छ ।
माओवादी नेताहरूले सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडान राखेका छन् । तर, एमाले नेताहरूले भने सूर्य चिह्न मात्रै राख्नुपर्ने तर्क गरेका छन् । ०४८ देखि जनस्तरमा परिचित भएकाले सूर्य चिह्न बढी प्रभावकारी हुने एमाले नेताहरूको भनाइ छ । नयाँ पत्रिकामा खबर छ ।