यौन हिंसाको उजुरी गर्न सहज वातावरण हुनुपर्ने

प्रकासित मिति: ५ आश्विन २०७३, बुधबार ०८:१५

काठमाडौँ, ५ असोज । द्वन्द्वकालका यौन हिंसाको उजुरी गर्न वातावरण सहज हुनुपर्नेमा पीडित पक्षले सरकारसँग माग गरेका छन् ।

द्वन्द्वकालका यौन हिंसामा संलग्न पीडक पहिचान गरी उनीहरुलाई कारबाहीको दायरमा ल्याउन तत्काल पहल गर्नुपर्ने, हिंसा प्रभावितका लागि सहयोग गर्नुपर्ने र न्यायको सुनिश्चितताका लागि जिम्मेवार संयन्त्र बनाइनुपर्नेमा यहाँ आयोजित एक कार्यक्रममा उनीहरुले जोड दिएका थिए ।
अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा महिला पुनःस्थापना केन्द्र (ओरेक), महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जाल, महिलाका निम्ति महिलामञ्च नेपाललगायत संस्थाको आयोजनामा आज यहाँ भएको सो कार्यक्रममा पीडितहरुले प्रभावित व्यक्तिलाई मनोसामाजिक सहयोग तथा स्वास्थ्य उपचारका लागि निःशुल्क र दीर्घकालीन सेवा उपलब्ध गराइदिनुपर्ने पनि माग गरे ।

ओरेकका अध्यक्ष डा रेणु अधिकारीले सरकारले द्वन्द्वकालमा यौन हिंसाबाट प्रभावितको दिगो जीविकोपार्जनको व्यवस्थासहित समाजमा आत्मसम्मानका साथ जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।

‘यौन हिंसाबाट प्रभावित महिलाको न्याय सुनिश्चितताः दिगो शान्तिको आधार’ भन्ने नाराका साथ यौनहिंसाबाट पीडित तथा महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले भृकुटीमण्डपबाट बानेश्वरस्थित संविधानसभा भवनअघिसम्म पदयात्रा गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement