राष्ट्रपति मुखर्जीले राष्ट्रकविसँग भन्नुभयो ‘कविजी, हाउ आर यु ?’

प्रकासित मिति: १७ कार्तिक २०७३, बुधबार १४:२६

काठमाडौँ, ‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्खा उचाली… जय जय जय नेपाल, सुन्दर र शान्त विशाल …।’ हरेक नेपालीको मनमस्तिष्कमा जीवन्त बास बसेका यी गीतका हरफहरु सङ््गीतमा तरङ्गित भइरहेको थियो । खुला चौरमा त्रिपाल त थियो नै । वरिपरि रुख र रुखमा रहेका चराचुरुङ्गीको आवाजसँगै राष्ट्रिय गीतमा विशिष्टजनले मन भुलाइरहेको प्रतीत हुन्थ्यो ।

कालजयी यस राष्ट्रिय गीतका स्रष्टा राष्ट्रकवि माधव घिमिरे मुस्कुराउँदै मञ्चतर्फ लम्किनु भयो । नब्बे वर्ष पार गरिसक्नुभएका वयोवृद्ध राष्ट्रकवि घिमिरे लौरोको सहाराले मञ्चमा पुग्नुभयो । मञ्चमा पाइला राख्ने बित्तिकै भारतका राष्ट्रपति प्रणव मुखर्जीले ‘कवि जी, हाउ आर यु ?’ भन्ने भलाकुसारीका शब्द उच्चारण गर्नुभयो । अङ्गेजी भाषाका ज्ञातासमेत रहनुभएका राष्ट्रकवि घिमिरेले जवाफमा भन्नुभयो – “आई एम फाइन, योर एक्स्लेन्सी ।”

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणमा आज काठमाडौँ आउनुभएको हो । राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भएको एक घन्टाको औपचारिक भेटपछि राष्ट्रपति मुखर्जी यहाँस्थित भारतीय दूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुनुहँुदाका क्षण हो यो ।

राजकीय निमन्त्रणामा आउने विशिष्ट व्यक्तिले आफ्नो दूतावासमा आयोजना गरिने स्वागत समारोहमा आमन्त्रित पाहुनाहरुसँग भेटघाट गर्ने परम्परा रहिआएको छ । तत्कालीन भारतका राष्ट्रपति के आर नारायणन् र श्रीमती उषाले पनि नेपालको राजकीय भ्रमणका क्रममा भारतीय दूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुँदा यसैगरी शीर्ष नेता, उद्योपति, कानुनविद्लगायत विशिष्ट व्यक्तिहरुसँग भलाकुसारी गर्नुभएको थियो । पूर्वराष्ट्रपति नारायणन्ले विस २०५५ जेठ १४–१६ मा नेपाल भ्रमण गर्नुभएको थियो ।

भ्रमणको पहिलो दिन नै भारतीय दूतावासले तत्कालीन राष्ट्रपति नारायणन्को सम्मानमा स्वागत समारोह आयोजना गरेको थियो । राष्ट्रकवि घिमिरे स्वागत समारोहका लागि मध्याह्न १२ बजे नै लैनचौरस्थित भारतीय दूतावासमा पुग्नुभएको थियो । “जीवनमा मलाई बडो आनन्द मिल्यो” – राष्ट्रपति मुखर्जीसँग हात मिलाएपछि उहाँले रासससँग भन्नुभयो ।

दुई देशका राष्ट्रिय गानको धून बजाएर स्वागत समारोह सुरु र अन्त्य गरिएको थियो । हँसिलो मुद्रामा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनसँग राष्ट्रपति मुखर्जी मञ्चमा आसीन हुनुहुन्थ्यो । भेटघाटमा नेपालका लागि भारतका राजदूत रणजीत रायको सहभागिता थियो ।

मुखर्जीको भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइ दिने देउवाको विश्वास
भारतीय राष्ट्रपतिसँग नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भेटघाट गर्नुभयो । भेटपछि सभापति देउवाले राष्ट्रपतिको भ्रमणमा सहभागी भएका भारतीय सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै भारतीय राष्ट्रपतिको यस भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल–भारतबीचको सम्बन्ध सदियौं पुरानो रहेको र यस्ता विशिष्ट भ्रमणले जनस्तरको सम्बन्ध अझ सुदृढ हुने प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो – “नेपाल नयाँ संविधानको कार्यान्वयन गर्न लागिपरेको छ ।”

भारतीय राष्ट्रपति मुखर्जीसँग नेका महामन्त्री डा शशाङ्क कोइराला, नेता डा शेखर कोइराला, सरकारमा सहभागी नेका र नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरुले भेट गर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावल, पूर्वसभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझीले पनि भेट गर्नुभएको थियो ।

यसैगरी, भारतीय राष्ट्रपतिसँग भेट गर्ने अन्य नेतामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलगायतका हुनुहुन्थ्यो ।

त्यस्तै, राष्ट्रपति मुखर्जीसँग नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष भवानी राणा र नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले भेट गर्नुभएको थियो ।

स्वागत समारोहमा आमन्त्रित व्यक्तिहरुसँगको भेटघाटमा राष्ट्रपति मुखर्जीले करिब आधा घन्टा समय व्यतित गर्नुभयो । सोही क्रममा राष्ट्रपति मुखर्जीले इन्डियन हाउस जानुभई त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गर्नुभयो ।

Bhansar Bivag
Argakhachi Cement