सोलुखुम्बु, २७ जेठ । दुर्गम हिमाली यस जिल्लामा आसन्न स्थानीय तह निर्वाचनमा भोट माग्न धेरैजसो उम्मेदवारले स्थानीय रेडियोको प्रयोग गरिरहेका छन् ।
चुनावी अभियानमा लागेका अधिकांश गाउँ÷नगर प्रमुखका उम्मेदवारले आफ्नै आवाजमा आफ्ना योजना तथा प्रतिबद्धतासहित मतदातासँग भोट मागिरहेका छन् । कसैले आफ्नो व्यक्ति–परिचयसहित निर्वाचित भएमा गर्ने कामबारे मत मागिरहेका छन् भने कसैले आफूले यसअघि गरेका कामको चर्चा गरेका छन् । विभिन्न स्थानीय एफएमले सःशुल्क उपलब्ध गराएको समयमा उम्मेदवारले भोट मागेका हुन् ।
आफूले यसअघि गरेको र अब गर्ने कामको प्रतिबद्धता मतदातालाई आफ्नै आवाजमा सुनाउन पाउँदा सहज भएको सोलुदूधकुण्ड नगरपालिमा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार आङदामी शेर्पाले बताउनुभयो । सकेसम्म सबै बस्तीमा पुगेर मत मागेको भए पनि आफ्नो प्रतिबद्धता एफएमबाट सुन्दा मतदातामा विस्वास हुने शेर्पाको ठहर छ । नेकपा (माओवादी केन्द्र) का सोही नगरपालिकाका प्रमुख पद उम्मेदवार ङिमा तेण्डुप लामाले प्रचारका लागि रेडियो सजिलो माध्यम भएको बताउनुभयो ।
नेपाली काँग्रेसले यसबेलासम्म उम्मेदवार चयन गरिनसकेकाले उसका यस्ता विज्ञापन बिरलै बज्ने गरेका छन् । निश्चित समय खरिद गरी आफ्ना कुरा आफ्नै आवाजमा सुनाउँदै मत माग्ने अवसर दललाई दिएको र उनीहरुको सहभागिता उत्साहजनक रहेको हिमाल एफएमका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले बताउनुभयो ।
जिल्लामा अहिले प्रचारप्रसारका क्रममा भित्तेलेखन लगभग शुन्य जस्तै छ भने पोस्टर÷पम्प्लेटको प्रयोग पनि निकै न्यून छ । घोषणापत्रसहितका हाते पुस्तिका तथा ब्रोसर र टिसर्ट÷टोपी, ज्याकेट आदिमा भने दलले प्रशस्त खर्च गरिरहेका छन् ।