विकास तथा जनआकांक्षा पूरा गर्न उम्मेदवारी

प्रकासित मिति: ७ मंसिर २०७४, बिहीबार ०५:०७

फिदिम, पाँचथर, ७ मंसिर  वाम गठबन्धनका साझा उम्मेदवार तथा नेकपा (एमाले) नेता वसन्तकुमार नेम्वाङले जिल्लाको विकास निर्माण तथा जनताका आकांक्षा पूरा गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।

यही मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका विषयमा आज बिहान फिदिममा रासससँग कुरा गर्दै उहाँले पाँचथरको भौतिक विकास र पर्यटन प्रवद्र्धनमा पु¥याएको योगदानका आधारमा आफू निर्वाचनमा विजयी हुने दाबी गर्नुभयो ।

समाजको रुपान्तरण तथा लोकतान्त्रिक गणतन्त्रको विकास र समृद्धिका लागि स्थायी सरकार निर्माण गर्नुपर्छ भन्ने ठम्याई भएका कारण आफूले उम्मेदवारी प्रस्तुत गरेको उहाँको भनाइ छ ।

मुलुकको समृद्धिका लागि पाँचथरमा प्रशस्त सम्भावना भएको बताउँदै नेता नेम्वाङले पशुपालन, कृषि, रोजगारी, नदीनाला, पर्यटका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘घरघरमा उज्यालो ः जनजनमा शेयर’ भन्ने नाराका साथ तमोर जलशाय योजनालाई सम्पन्न गरेर पाँचथरभन्दा बाहिर पनि योगदान पु¥याउन सकिने उल्लेख गर्दै उहाँले आन्तरिक पर्यटन विकासका लागि महागुरु फाल्गुनान्दको समाधीस्थललाई प्रचारप्रचारमा लैजानुका साथै किरात संग्रहालय स्थापना गरिने बताउनुभयो ।

भौतिक पूर्वाधारमा यस जिल्लालाई नमूना जिल्लाका रुपमा विकास गरिने भन्दै नेता नेम्वाङले चीन–नेपाल–भारत तमोर करिडोर, यही जिल्लाको चिया भन्जयाङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग, अन्य रणनीतिक मार्गलाई पनि विकास गर्नेमा जोड दिनुभयो ।

मध्यपहाडी लोकमार्गमा स्थापना गरिने १० वटा स्मार्ट सिटीमध्ये फिदिम एक महत्वपूर्ण स्थान भएको भन्दै उहाँले जनताको चाहनाअनुसारको विकासलाई आफूले ध्यान दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

विगतको तुलनामा जनताले यसपटक विकास निर्माणका लागि मलाई नै जिताउन जनता अतुर रहेको दाबी गर्दै ढुक्कका साथ निर्वाचन जितिने उहाँको भनाइ थियो ।

Bhansar Bivag
Argakhachi Cement