मनोज ज्ञवाली
प्रमुख कार्यकारी
ज्योति विकास बैंक
युवा बैंकरको परिचय बनाउँदै गएका छन् मनोज ज्ञवालीले । पढाइले उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । उनी अहिले ज्योति विकास बैंकको प्रमुख कार्यकारीको भूमिकामा छन् । पढाइ सकेपछि उनले ५ बर्ष राष्ट्र बैंकमा काम गरे । त्यसपछि उनले ग्लोबल आइएमइ बैंकमा ब्यवस्थापनको उच्च तहमा रहेर आठ वर्ष अनुभव हासिल गरे । त्यहाँ उनी प्रमुख संचालन अधिकृतको भूमिकामा थिए । त्यसपछिको केही समय उनले ग्लोबल आइएमइ क्यापिटलको प्रबन्ध निर्देशक भए । त्यहाँ क्यापिटलले ल्याएको म्युचुअल फन्ड उनको सक्रियतामा सुरु भएको थियो ।
उनी बैंक तथा वित्तीय क्षेत्रबाट केही समय अलग पनि भए । त्यतिखेर उनले जलविद्युत कम्पनीको नेतृत्व गरे । उनको विशेषज्ञता बैंकिङ क्षेत्रमा थियो । जलविद्युतमा उनी रमाउनै सकेनन् । त्यसपछि उनी फेरि फर्के बैंकिङ करिअरमै । उनले ज्योति विकास बैंक ज्वाइन गरे । त्यहाँ उनले झण्डै २ बर्ष विताइसककेका छन् ।
दैलेखको भैरवी गाउँपालिकामा जन्मेका उनले आफ्नो एसएलसीसम्मको पढाइ गाउँबाटै गरे । त्यसपछि उनी उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आए । उनलाई चार्टर्ड एकाउन्टेन्ट बन्ने धोको थियो । उनी लागे भारततिर । उनीसँग ज्योति विकास बैंकको अबस्था र भावि योजनाबारे विष्णु निश्चलले लामै कुराकानी गरेका छन् ।
ज्योति विकास बैंकको नेतृत्व गरिरहनु भएको छ । यस बैंकको अबस्थाबारे बताइ दिनुस् न ।
ज्योति विकास बैंक स्थापनाको १० बर्षमा हिँडिरहेको छ । मर्जर, इक्विजिसनपछि बाँकी रहेका १ दर्जन विकास बैंकमध्ये ज्योति अग्र स्थानमा रहेको बैंक बनेको छ । स्थापनाको ६÷७ बर्षसम्म अरुजस्तै रहेको यस बैंकको २ अर्ब यता पोर्ट फोलियोको आकार ६ अर्बबाट १३ अर्बको हाराहारिमा पुगिसकेको छ ।
हामीले पछिल्लो २ बर्षमै निकै प्रगति गरेका छौं । शाखाको आधारमा हेर्दा हामीले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मै गरेर ५० वटा शाखा स्थापना गरिसकेका छौं । कतिपय अरु बैंक नपुगेका ठाउँमा समेत हामीले शाखा स्थापना गरेका छौं । जस्तो मकुवानपुरको फापरबारी । काठमाडौं उपत्यकामै हेर्ने हो भने पनि १५ वटा शाखा संचालित छन् । हामी मुख्य सहरदेखि ग्रामीण इलाकामा समेत शाखा विस्तार गरेका छौं ।
हामीले राष्ट्र बैंकले तोकेको न्युनतम चुक्तापूँजी पूरा गरिसकेका छौं । अहिले बैंकको चुक्ता पूँजी २ अरब ५९ करोड छ । ज्योति विकास बैंक शाखा नेटवर्क, पोर्टफोलियो, क्यापिटल, जनशक्ति सबै हिसावले रेडि छ । बजारमा लिक्विडिटी क्राइसिसलगायतका अनफेबोरेवल सिचुएसनले हामीले ग्रोथ प्रेजेक्टलाई कसरी प्रोजेक्ट गर्ने भन्ने केही अलमल भए पनि हामी राष्ट्रिय स्तरको बैंक बन्ने गरी अगाडि बढीरहेको छ ।
ज्योति विकास बैंक अरु वित्तीय संस्थाभन्दा के अर्थमा फरक छ ?
स्पष्ट रुपमा भन्दा अहिले रहेका घ बर्गबाहेकका सबै बैंक तथा वित्तीय संस्थाले दिने सेवा सुविधा एकै प्रकारको छ । त्यसैले ज्योतिले अरुभन्दा यो सेवा फरक छ भनेर किटेर भन्न सकिन्न । तर हामीले सेवामा विविधिकरण गरेका छौं ।
हामीले ६ वटा शाखाबाट माइक्रोफाइनान्स सेवा सुरु गरेका छौं । हामीले साना उद्यमीलाई २ लाख रुपैयाँदेखि जलविद्युत आयोजनामा ५० करोड रुपैयाँसम्म लगानी गरेका छौं । आजका मितिमा सामान्य बाख्रा पालन गर्छु भनेर आउने किसानको पनि बैंक हो भने म जलविद्युत आयोजना बनाउँछु भनेर आउने ब्यक्तिसमेत हाम्रो ग्राहक हो ।
हामी अरु बाणिज्य बैंकहरुले दिने सेवा सुविधामा कम नहुने गरी दौडने प्रयास गरिरहेका छौं । रेमिटान्सको सुविधासमेत सुरुआत गर्ने गरी सेटअप गरिसकेका छौं । यही आर्थिक बर्षको तेस्रो चौमासिकभित्र सेवा सुरु गर्ने योजनामा छौं । भिषा नेटवर्कमा गइसकेका छौं । ग्राहकलाई ज्योति विकास बैंकमा यस्तो सेवा छैन भन्ने अबसर नदिने गरी काम गरिरहेका छौं । ज्योति विकास बैंक यस्तो रेष्टुरेन्ट हुँदैछ, जहाँ सबै प्रकारका परिकार पाक्छ ।
राष्ट्र बैंकले तोकेको प्रतिफल पूरा गर्नु भएको छ । त्यस आधारमा शेयरधनीलाई प्रतिफल कसरी दिनुहुन्छ ?
यसबारे मेरो दुई वटा धारणा छ । मैले संचालक समितिसँग पनि यसबारे कुरा गरिसकेको छु । यसबारे बैंकरहरु पनि स्पष्ट हुन आवश्यक छ ।
ज्योति विकास बैंक पहिलो बर्ष बैंक घाटामा गयो । स्थापना भएको बर्ष सबै बैंक घाटामै हुन्छन् । दोस्रो बर्ष केही नाफा गर्यो । अर्को बर्ष शेयरधनीलाई ५ प्रतिशत लाभांश दियो । त्यसै गरी १० औं बर्षपछि कुनै बैंकले १५÷२० प्रतिशत डिभिडेन्ट दिएको अबस्था हो । हामी आज क्यापिटल ३ गुणा बढ्दैमा मार्केट त्यतिकै गुणामा बढ्न सक्ने अबस्था छैन ।
मार्केमा निक्षप बृद्धि हरेक बर्ष २०÷२१ प्रतिशत छ । ऋणको बृद्धि हरेक बर्ष १७÷१८ प्रतिशत छ । मैले तीन गुना विजनेस ग्रोथ नगरेसम्म मेरो क्यापिटललाई कसरी पुग्छ ? यसका लागि समय लाग्छ । जादू गरेर हुँदैन । पहिला लगाएको लगानीको रिटर्न २० प्रतिशत दिन सकिन्छ । त्यसपछि थपेको ३ गुणाको रिटर्न २० प्रतिशतकै हाराहारीमा दिनभने केही समय लाग्छ । जसरी क्यापिटल बढ्यो, त्यसअनुसार अपरेटिङ कस्ट बढ्दैन, कर्पोरेट हाउसका खर्च बढ्दैनन् । त्यसैले राम्रो आम्दानी हुन्छ ।
हामीले अचानक ग्रोथ लिएर जान लाग्यौं भने, तपाईंले कर्जा जथाभावी फाल्न थाल्नुहुन्छ । त्यसले डिपोजिटमा प्रेसर पर्छ । अहिले भएको त्यही हो । सेभिङमै बाणिज्य बैंकहरुले १० प्रतिशत ब्याज दिएका छन् । सहकारीले भन्दा महंगो रेटमा बाणिज्य बैंकले डिपोजिट लिन थालेपछि हामी कहाँ जाने ? मैले आजको दिनमा १३ प्रतिशतमा लिएको डिपोजिट १८ प्रतिशतमा लगानी नगरे कस्ट उठ्दैन । अहिले २० प्रतिशतमा ऋण लिएर कुन उद्योगले उत्पादन गरेर नाफा कमाउँछ । के मैले अफिम उत्पादन गर्न ऋण दिने ?
बैंक भनेको नाफा कमाउने मात्र संस्था हैन । हाम्रो देशको इकोनोमीमा पनि ठूलो हात छ । हामीले छरिएर रहेको पूँजीलाई एकिकृत गरेर औद्योगिक ग्राहकलाई लगानी गर्नुपर्छ । अर्को कुरा लगानीमा प्रतिफल पनि दिनु पर्छ ।
अहिले यसको ठिक उल्टो छ । लगानीमा लगाम पनि छैन । हामीलाई लगाम छैन । कस्ट अफ फन्ड बढ्यो भने १२ बाट १५ भयो भने १७÷१८ मा लगाइ दिन्छौं । ग्राहकले घरजग्गा ल्याप्चे लगाएर दिएको हुन्छ । लिलामीमा लैजाउँ कि पैसा तिर भन्छौं । यस्तो कहिलेसम्म ?
विदेशमा भए क्राइसिस आइसक्थ्यो । नेपालमा नआएको चाहीँ धितोमा आधारित लगानी भएकाले हो । नत्र डेड बर्षअघि ८ प्रतिशतमा लिएको ऋण १६÷१७ पुगिसक्यो । ग्राहकले कसरी तिरिरहेका होलान् । एउटा धितोमा लक छ, अर्को इज्जतको कुरा छ । हामीले ग्राहकसँग पनि जिम्मेवार हुनुपर्छ ।
पछिल्लो समय धेरै बैंक तथा वित्तीय संस्था भएकाले अस्वस्थ प्रतिस्पर्धा भइरहेको हो ?
यसलाई दुई वटा पाटाबाट हेर्नु पर्छ । चाहिने भन्दा बढी भएको भए, नराम्रो भयो । धेरै भएर केही बेफाइदा भएको छैन । कुनै बेला इन्भेस्टमेन्ट बैंक÷नविल बैंकमा खाता खोल्न १०÷२० हजार न्युनतम डिपोजिट चाहिन्थ्यो । अहिले १ रुपैयाँमा खाता खोल्ने स्क्रिम ती बैंकले ल्याएका छन् । यस्तो प्रतिस्पर्धाले ग्राहकलाई फाइदै भएको छ । दुरदराजमा बैंक पुगेका छन् ।
अहिले बैंक बढेकाले क्यापिटल अचानक बढाइयो । मर्जर र एक्वीजिसनबाट मात्र बढाउनु पर्छ भनेको भए यस्तो अबस्था आउने थिएन । राइट सेयर समेत इस्यु गर्न दिइयो । त्यतिखेर सेयर मार्केट बुम भएको थियो । नेपालको सेयर मार्केट कस्तो उल्टो छ भने संसारभर क्यापिटल कल गर्यो भने आफैं क्यापिटल पुर्याउन नसक्ने रहेछ, फेरि कल गर्छ भनेर सेयर मूल्य घट्छ । नेपालमा भने राइट इस्यु गर्ने कम्पनीको सेयर मूल्य बढ्छ ।
नेपालमा राइट जारी गरेर क्यापिटल पुर्याउँदा भएको एउटा कित्ता खेतबाट कमाएर पाल्नु पर्ने धेरै जना थपिएजस्तै हो ।
यसको जिम्मेवार सबै छन् । नियमनकारी निकाय, हामी सबै जिम्मेवार हौं । बैंकको संख्या बढ्नु, प्राइभेट सेक्टरका बैंकहरु आउनु, गाउँगाउँमा जानु सकारात्मक पक्ष हो भने बढी खाने मुख भएको हुनाले जे पायो त्यही गरेर प्रोडक्टहरु लिएर आउनु, ब्याज दर बढाएर निक्षेप संकलन गर्न दौडादौड गर्नु राम्रो हैन ।
ब्याज दरमा लगाम नहुँदा यस्तो समस्या आएको हो । लगाम लाग्यो भने बैंकहरु आफैं ट्राकमा आउँछन् । कुनै पनि कर्जामा १ बर्षसम्म ब्याज बढाउन नपाउने ब्यवस्था हुने हो भने स्वच्छ प्रतिस्पर्धा हुन्छ । बैंक तथा वित्तीय संस्था बढी भएर ग्राहकलाई बेफाइदा भएको त छैन, तर संख्या केही बेसी भने भएकै हो ।
ज्योति विकास बैंकले सेयरधनीलाई राम्रो प्रतिफल दिन एउटा लिडरका रुपमा तपाईंका योजनाहरु केके छन् ?
हामी स्पष्ट छौं हामी केके गर्छौं भन्ने कुरामा । नियमनकारी निकायका नियम छिनछिनमा परिवर्तन हुन्छन् । त्यसैले आगामी एक महिनामा के हुन्छ किटान गर्न गाह्रो छ । यद्यपि अन्य कुराहरु यथावत रहेमा भन्नु पर्छ । अर्को राष्ट्रिय स्तरको बाणिज्य बैंक २५ अर्बको पोर्टफोलियो लिएर बसिरहेको छ । हामी १३ अर्बमा छौं । मेरो पहिलो च्यालेन्ज त्यहाँ पुग्नु पर्ने छ । क्यापिटल २५९ करोड पुगेपछि हामीले रिटर्न त्यही अनुपातमा दिन २५ अर्बको पोर्टफोलियो बनाउनै पर्छ ।
बजारमा अलिकति सहज अबस्था आयो भने हाम्रो ५० वटा शाखाको नेटवर्क छ । एउटा शाखाले महिनामा २ करोड निक्षेप ल्यायो भने एक बर्षमा १२ अर्ब संकलन हुनु ठूलो कुरा हुन्न । यसले अर्को बर्ष २५ अर्बमा पुग्छौं । बिजनेश साइज बढाएपछि नाफा कमाउने चुनौती हाम्रा सामु हुनेछ । आजको मितिमा ज्योति विकास बैंकले हामीले ठमेलमा शाखा स्थापना गरेर बैदेशिक मुद्राको कारोबार सुरु गरिसकेका छौं । बैंकको अहिलेसम्म बैंकको ब्यालेन्स सिटको बैदेशिक मुद्रा कारोबार शीर्षकमा कहिलेकाहीँ नोक्सानै देखिन्थ्यो । अहिले १ महिनाभित्र १८ लाख कमाइ भएको छ । यस आर्थिक बर्षभित्र ५० लाख कमाउँछौं । अर्को बर्ष ३ करोडभन्दा बढी कमाइ हुन्छ ।
हामीले बिजनेस सेयरिङ एग्रिमेट गरेर फोरेन एलसी सेवा सुरु गरिसकेका छौं । अरु पनि सेवा सुविधामा ग्रोथ गरेर हामी अर्को बर्ष रिटर्नमा अरु बैंकको हाराहारीमा पुग्छौं । हामी पहिलो बर्ष विजनेस साइज मिट गर्छौ । अर्को बर्ष रिटर्नमा म्याच गर्छौं । सबै कुराहरु मिट गरेपछि हामी सेवा सुविधालाई प्रभावकारी बनाउतिर लाग्छौं्र । यसरी हामी सबै कुराले उत्कृष्ट बैंक बन्ने गरी अगाडि बढेका छौं । आगामी ४ बर्षभित्र हामीलाई उत्कृष्ट बैंकको सूचीमा देख्नु हुनेछ ।
आगामी बर्ष सेयरधनीलाई यति अंकमा लाभांश दिन सकिन्छ भनेर अनुमान गर्न सकिन्छ ?
आजसम्म हामीले गरेको पूर्वानुमान मिट गर्दै गएका छौं । यसरी जाँदा यस बर्ष ४० करोडको हाराहारीमा नाफा बस्नु पर्ने हाम्रो अनुमान छ । एकातिर कस्ट अफ फन्ड बढेको बढेकै छ । त्यसले एनपिएलमा हिट गर्यो भने केही गाह्रो होला । नत्र हामी आफ्नो प्रोजेक्सन अनुसार नाफा कमाउनेमा विश्वस्त छौं ।
यसलाई लाभांश पाउनेहरुले कसरी बुझ्ने ?
हामी यस बर्षको नाफाबाट दोहोरो अंकमै (१० प्रतिशतभन्दा बढी) लाभांश दिने गरी लागिरहेका छौं । अघिल्लो बर्षको भन्दा घटाउने छैनौं । गत बर्ष ११ प्रतिशतको हाराहारी, अघिल्लो बर्ष १० प्रतिशतको हाराहारीमा लाभांश दिएका थियौं । त्यही रेसियोमा यस बर्ष पनि लाभांश दिन सक्नु ठूलो कुरा हो ।
बाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा गर्न कतिको गाह्रो हुने रहेछ ?
हैन, बाणिज्य बैंकहरुले अहिले हामीसँग प्रतिस्पर्धा गरिरहेका छन् । केको गाह्रो हुने हो र ? तपाईं बजारमा हेर्नुस् । कुनै विकास बैंकले बचतमा साडे आठ प्रतिशतभन्दा बढी ब्याज दिएको छैन, उहाँहरु १० प्रतिशत अफर गरेर हिँड्नु भएको छ । कल एकाउन्टमा हाम्रा साथीहरु कसैले साँढे सातभन्दा कसैले दिएको छैन, उहाँहरु ८ प्रतिशत अफर गरिरहनु भएको छ । मार्केटमा जे पायो त्यही उहाँहरुले गरिरहनु भएको छ । ऋण तानातान उहाँहरु गरिहनु भएको छ । सेफ्टीको हिसावले, स्थायित्वको हिसावले विकास बैंकहरु धेरै राम्रा छन् । मैले त लाइसेन्स साटासाट गरौं भन्ने गरेको छु । बजारले देखाइरहेको छ । मैले भन्ने कुरा हैन यो । मार्केटमा क्राइसिस उनीहरुलाई । सिआरआरको पेनाल्टी उनीहरुलाई । हामीलाई छ ?
मलाई त ३ अर्बको पोर्टफोलियो भएको बाणिज्य बैंक ७० अर्बको ब्यालेन्स सिट पुगुन्जेल काम गरेको अनुभव छ । राष्ट्र बैंकको समेत अनुभव लिएको छ । यहाँ साथीहरु भन्ने वित्तिकै दौडिन्छन् । काम गर्न सजिलो छ । अलिकति डराउँछन् पनि । सजिलो यहीँ देख्छु छ ।
लरलताको समस्याले कत्तिको गाँजेको छ ?
एक दमै छ । गत बर्ष सुरुमा म यहाँ आउँदा साथीहरु लिक्वीडिटीको समस्या सर्ट टर्म हो, चैतमा सकिन्छ, असारमा सकिन्छ भन्नुहुन्थ्यो । मैले त्यतिखेर पनि भनेको हुँ, अहिले पनि भन्छु । यो समस्या कम्तीमा डेडदेखि २ बर्ष जान्छ । सिम्पल लजिक छ । क्यापिटल साइज ४ गुणा बढेको छ । बिजनेस साइज ४ गुणा बढ्न सक्दैन । केही ८ अर्ब पुग्न लागेका बैंकलाई क्यापिटल बढाएर केही असर भएन । उनीहरुले ऋणसमेत त्यही अनुपातमा बढाइसकेका थिए ।
क्यापिटलको प्लान अनुसार सबै बैंकले राइट सेयर ल्याए । उनीहरुलाई बिजनेस साइज म्याज गर्न अझै डेढ, दुई बर्ष लाग्छ । उनीहरुलाई थपिएको पूँजी अनुसार बिजनेस साइज बढाउन अलिकति खुकुलो हुनासाथ दौडादौड गर्नै पर्छ । त्यसले डिपोजिटमा प्रेसर पर्छ ।
एक दम आशावादी बनौं । भोलि सरकारले ठूलो भिजन लिएर आयो, भएभरको ढुकुटीमा रहेको पैसा, स्थानीय सरकारलाई दिने पैसा तिमीहरु आफैं बैंकमा खाता खोलेर राख भनेर दियो । स्थानीय निकायले बैंकका शाखामा खोलेको खातामा राखेर परिचालन गर्न दियो भने सहज होला । धेरै ठूलो भोलुमको कुरा छैन । बजारमा सबै वित्तीय संस्थाको कर्जाको साइज २१ खर्ब हाराहारीको होला । २÷३ खर्ब रुपैयाँ सिधै बजारमा पठाइ दिने हो भने छिट्टै सहज हुन्छ । तर, मैले त्यो लेवलको भिजन, त्यो लेवलको इफिसिएन्सी देखेको छैन । अहिलेको सरकार स्टेवल छ, आशावादी छु तर भर पर्न सक्दिन ।
निक्षेप बटुल्न ब्याज बृद्धिबाहेक के उपाय छ ?
अहिले सबै बैंकले देखेको त्यही मात्र हो । त्यही भएर समस्या भयो । जति बेला आँधी बेहेरी जान्छ, त्यति बेला संयमित हुनुपर्छ । भूकम्प जाँदा घर त ढलेन, तर झ्यालबाट फाल हालेर मरेकाहरु छन् । अहिले भएको त्यस्तै हो । ब्याज बढाएर तपाईंले अर्कोको निक्षेप तान्नु भयो । त्यसपछि उहाँ हातमा दही जमाएर कहाँ बस्नु हुन्छ र ? उहाँले पनि तान्नु हुन्छ । त्यही तानातान गर्यो । भोकै बसेको अबस्थामा रोटी बाँडेर खानु राम्रो हुन्छ । तानातान गर्दा भूईंमा खस्न सक्छ ।
हामी बैंकरहरु आफूलाई प्रोफेसनल भन्छौं । प्रोफेसनलहरु क्राइसिसको अबस्थामा बढी जिम्मेवार हुनु पर्छ । त्यस कारण आफ्नो संस्थाभन्दा आफ्नो उद्योगलाई जोगाउन लाग्नु पर्छ । नेपालका बैंकहरुलाई धितो र पशुपतिनाथले जोगाएका हुन् । अन्तराष्ट्रिय बजारमा यतिको लथालिंग हुँदा बजार के हुन्थ्यो हुन्थ्यो । सन् २००८ मा अमेरिकामा त्यत्रो अर्थतन्त्र भएका मुलुकमा सानाठूला गरेर १४१ वटा संस्था डुबे ।
शहरमा बैंकहरु च्याउ जत्तिकै छन् । स्थानीय तहमा सरकारले आग्रह गर्दा पनि बैंकले शाखा खोल्न मानिरहेका छैनन् । किन होला ?
दुई वटा कुरामा विरोधाभाष छ । बैंकले जाँदैनौ भनेका छैनन् । मैले फापरबारीमा शाखा खालेपछि नगद यताउता गर्न बेहाल छ । शाखा खोलेको तीन महिना भयो । पुगनपुग १ करोड निक्षेप संकलन भएको छ । हामी ब्यापारी हौं । जहाँ ब्यापारको सम्भावना देख्छौं, त्यहाँ जान्छौं । हामी सरकारलाई कर तिर्छौं । कमाएको नाफामा ३० प्रतिशत सरकारलाई तिर्छौं । आजको दिनमा सबैभन्दा बढी कर बैंकिङ सेक्टरले तिर्छ । मदिरा, चुरोट उद्योग तिरेजत्तिकै उच्च कर हामी तिर्छौं । जनताको सेवा गर्ने काम सरकारको कि मेरो ? जहाँ सम्भावना छ म त्यहीँ जान्छु । धकेलेर जान्छु र ? जानुअघि बाटो बनाइदिनु परेन ? बाटो खनेर, बिजुलीका पोल गाडेर, विद्युत उत्पादन गरेर, टेलिफोन, इन्टरनेट आफैं विस्तार गरेर जान सक्छु र ? बेसिक इन्फ्रास्ट्रक्चर बनाउने काम कसको ? सरकारको हैन ? बाटो क्यास ट्रान्जिट गर्न चाहियो । बाटो भएपछि सवारीको साधन ब्यवस्था आफैं गछौं । कनेक्टिभिटी चाहियो । आधारभूत पूर्वाधार तयार भए हामी आफैं जान्छौं ।
स्थानीय निकायले गर्ने कारोबार स्थानीय स्तरमा स्तरमा खोलेको शाखाबाट गर्नु पर्ने ब्यवस्था सरकारले गरोस् । हामीले नाफा कमाउनै पर्छ । सेयरधनीलाई लगानीको प्रतिफल दिनै पर्छ । घाटामा गएर कसरी बैंक चलाउने ? जुम्लामा बाटो खुलेपछि एउटा बैंक गयो । अहिले कतिवटा पुगिसके । पूर्वाधार पुगे हामी नाफा खासै नभए पनि हामी जान्छौं ।
एउटा ब्यक्तिगत कुरा सोधौं । बिचमा तपाईं नेप्सेतिर पनि फड्किन खोज्नु भयो । कतै बैंकिङ क्षेत्रमा वितृष्णा भएको त हैन ?
बिल्कुलै हैन । कतिपय कुरा मिडियामा भन्न मिल्ने हुँदैन । मेरो अनुभव राम्रो भएन । नेप्सेमा जाउँ मात्रै भनेर जान खोजेको थिएन । अर्थ मन्त्रालयले त्यतिखेर नेप्सेमा जान चाहनेका लागि कार्यविधि निकाल्यो । त्यसमा अनुभवलाई कति नम्बर, योग्यतालाई कति नम्बर भनेर तोकेको थियो । आजको डेटमा नेपालमा क्यापिटल मार्केटको किन ग्रोथ भएन भन्ने सबैलाई थाहा छ । म बितृष्णा भएर गएको हैन । बितृष्णा भएको भए मलाई मेरो बैंकले फर्केपछि प्रमुख कार्यकारीको जिम्मेवारी दिन्छ ?
सामान्य मान्छे भएको भए अन्त कोशिष गरेर नपाएर बसेको मान्छेलाई निकाल्छ । म त्यो केही ठूलो एरिया भएकाले त्यहाँ केही गर्न सकिनछ कि भनेर जान लागेको थिएँ । साथीहरुले पनि जानु पर्छ भनेर उक्साउनु भएको थियो । नत्र म ४ लाख हाराहारीमा तलव खाइरहेको मान्छे ८० हजार तलव खान किन जान खोज्थें । त्यहाँ घुस खान, बैमानी गर्न जाने हैन ।
म दैलेखबाट आएको मान्छे । साइकल चढ्दा रमाएको मान्छे । आजको दिनमा ट्याक्स तिरेको पैसाले किनेको घर, गाडीलगायतको सुविधा मसँग छ । एक रुपैयाँ अहिलेसम्म बैमानी गरेको छैन । मसँग स्पष्ट कार्ययोजना थियो । मैले त्यहाँ ४ बर्ष साँच्चिकै काम गरेर देखाएँ भने आर्थिक छेत्रमा अलग्गै पहिचान बनाउन सकिन्छ । त्यो पहिचानले भविष्यमा अरु सम्भावनाका ढोका खोल्छन् भनेर मैले सबै कुरामा कम्प्रोमाइज गरेर, त्यो च्यालेन्जलाई स्वीकारेर नेप्सेमा जाने कोशिष गरेको थिएँ । त्यस क्रममा धेरै राम्रा अनुभव पनि भए । सरकारी नियुक्तिका क्रममा हुने कुराहरु प्रत्यक्ष देख्ने, बुझ्ने अबसर पाइयो । यसले मेरो सपनाको साइज चाहिँ सानो गरिदिएको छ । वास्तवमा म ठूलो सपना देख्थें । अहिले खुशि छु । जहाँ छु ठिक छु ।
तपाईं सेयर बजारको जानकार मान्छे । अहिले सेयर बजार किन यस्तो भइरहेको छ ?
सेयर बजारमा खासै इन्फर्मेसन नै छैन । मैले त्यहाँ जान लाग्दा ठूलो वर्किङ प्लान गरेको हुँ । अहिले नेप्सेको वेवसाइट हेर्दा कुनै पनि संस्थाको ६ बर्षको फाइनान्सियल इन्फर्मेसन छ ? तपाईंले कम्पनीहरुको आर्थिक अबस्था तुलना गरेर हेर्न पाउनु हुन्छ ? लिस्टेड कम्पनीको १० बर्षको डाटा एनालाइसिस गर्न थाल्नु भयो भने तपाईंको के हालत हुन्छ ?
जुन मार्केट इन्फर्मेसनको आधारमा ट्रेड गर्नु पर्ने हो, त्यो मार्केटको इन्फर्मेसन नै छैन । हामीले के आधारमा ट्रेड गरिहेका छौं ? लगानीकर्ताको सचेतना पनि अत्यन्तै कम छ । बाहिर हेर्ने हो भने स्टक एक्स्चेन्जहरुले कतिवटा तालिम, वर्कसप, कति कार्यक्रम गर्छन् । हामीकहाँ फिटिक्कै छैन । हामी हल्लैहल्लाका भरमा बजार चलाइरहेकाछौं । एपिएस, डिपिएस, डिभिडेन्ट सैद्धान्तिक रुपमा पढे पनि बजारमा आएपछि यो त प्रयोग हुने रहेनछ भन्नु पर्ने अबस्था छ । हल्लै हल्लाको आधारमा यसरी चलेको बजार किन घट्छ, किन बढ्छ भनेर म बोल्नै चाहन्न । त्यहाँ कुनै लजिक छैन । मार्केट सँधै इन्फर्मेटिभ हुनु पर्छ ।
निरंतर घट्नु चाहीँ बैंकमा पैसा राख्दा रिटर्न १२÷१३ प्रतिशत छ । सेयर बजारमा त्यति छैन । त्यसैले लगानीकर्ताले किन बजारमा पैसा हाल्ने ? अर्को कुरा क्यापिटल प्लान अनुसार मार्केटमा धमाधम राइट सेयर इस्यु हुनथाल्यो । त्यसपछि प्रोमोटर सेयरको पब्लिकमा परिवर्तन हुन क्रम बढ्यो । हिजोको भन्दा आज ५० प्रतिशतभन्दा बढी सेयर आपूर्ती बढ्यो । एकातिर डिमान्ड क्रिएट नहुने, मार्जिन लेन्डिङमा बाणिज्य बैंकले ब्याज १७ प्रतिशत लिने । यस्तो अबस्थामा ऋण लिएर सेयर बजारमा लगानी गर्न को तयार हुन्छ ? यी सबै कुरा सेयर बजारका लागि प्रतिकूल भएर यस्तो अबस्था आएको हो ।