विदेश जाने युवालाई उद्यमममार्फत स्वदेशमै रोक्न सकिने

प्रकासित मिति: ३० आश्विन २०७४, सोमबार १५:२०

काठमाडौँ, ३० असोजअन्तर्राष्ट्रिय गरिबी निर्मूलीकरण दिवसको अवसरमा उद्योग मन्त्रालयले आज भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका २१ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतका लागि ‘उद्योग तथा उद्यमशीलता विकास र लघु उद्यम विकास नमुनासम्बन्धी अभिमुखीकरण कार्यक्रम’ आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटनका क्रममा उद्योगमन्त्री सुनिलबहादुर थापाले विदेश जाने युवालाई उद्यममार्फत स्वदेशमै रोक्न सकिने बताउँदै विदेशबाट फर्केका युवालाई लघु, साना तथा मझौला उद्योगमा सहभागी गराई आत्मनिर्भर बनाउन मन्त्रालय प्रतिबद्ध छ भन्नुभयो ।

मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले महिला तथा युवालाई लघु उद्यममा सहभागी गराई व्यवसाय प्रवद्र्धन गर्नु प्राथमिकतामा रहेको बताउनुभयो ।

युएनडिपी नेपालका राष्ट्रिय निर्देशक रेन्युड मेयरले उद्योग मन्त्रालयद्वारा १९ वर्षदेखि सञ्चालित लघु उद्यम विकास कार्यक्रममार्फत गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेलिएको बताउनुभयो । नेपालका लागि अष्ट्रेलियाली राजदूत पिटर वडले नेपाल सरकारले महिला र पिछडिएका वर्गलाई समावेश गरी सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम(मेडेप)मार्फत उद्योग मन्त्रालयले गरिबीको रेखामुनि रहेको जनसंख्यालाई माथि उकास्न खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा कार्यपत्र पेश गर्दै मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले मन्त्रालयद्वारा सञ्चालित मेडेपलाई हाल नेपाल सरकारले आन्तरिकीकरण गरी ७७ वटै जिल्लामा ‘गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा)’ का रुपमा सञ्चालन गरिरहेको बताउनुभयो ।

गरिबी निवारण तथा सहकारी मन्त्रालयका सहसचिव सुरेश प्रधानले समग्र गरिबीको स्थिति र उद्यमशीलताबाट गरिबी निवारणमा सहयोग पुग्ने विषयमा कार्यपत्र पेश गर्नुभयो भने उद्योग मन्त्रालयका सहसचिव गोपी खनालले औद्योगिक ग्राम स्थापना र औद्योगिक करिडोर स्थापनामा मन्त्रालयले पहल गरिरहेको बताउनुभयो ।

Bhansar Bivag
Argakhachi Cement