गोरखा । जिल्लाको शहीद लखन गाउँपालिका अन्तर्गत वडा नं. ८, बुङ्कोट अवस्थित श्री राम्चे प्राथमिक विद्यालयको चार कोठे भवन पुनर्निमाणका लागि सहयोग रकम जुटेको छ । एक समारोहको आयोजना गरी सहयोग रकम संकलन कार्यका अभियन्ता प्रकाशबाबु थापा र बुङ्कोट वडा नं. ८ का नवनिर्वाचित वडाध्यक्ष काशीनाथ अम्गार्इँले संयुक्त रुपमा रकम हस्तान्तरण गरे ।
०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त विद्यालयको भवन निर्माणका लागि नगद रु. तीन लाख विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यस्थापन समितिका अध्यक्षलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको हो ।
विश्वशान्ति युवा संघ नेपालका अध्यक्ष, सामाजिक अभियन्ता तथा गीतकार प्रकाशबाबु थापा (प्रकाशपुञ्ज) को सक्रियतामा सो रकम संकलन भएको हो । अमेरिका, बेलायत, जापान, द. कोरिया, क्यानडा, नर्वे, बहराइन, कतार, म्यानमार आदि देशहरूबाट सहयोग रकम जुटेको अभियन्ता थापाले जानकारी दिए । भूकम्पपश्चात् विद्यालयको अवस्था नाजुक भएको थियो र भवन पुनर्निर्माण गर्नुपर्ने अवस्थामा थियो । विभिन्न काम विशेषले विदेश गएका नेपाली व्यक्तित्वहरूले नै सहयोग गरेको अभियन्ता थापाले बताए ।
‘विद्यालय भवन पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउनुपर्ने अभियान संचालन गरेको र उक्त अभियानलाई साथ तथा समर्थन गरिदिनुहुन सबैलाई आह्वान गर्दै फेसबुकमा स्टाटस राखेको थिएँ,’ अभियन्ता थापाले भने, ‘त्यही स्टाटसबाट सुरु भएको अभियानले यतिका रकम जुट्न सम्भव भएको हो, हामी अत्यन्त खुसी छौँ ।’ विश्वकै कान्छा निर्देशक सौरभ विष्टद्वारा निर्देशित चलचित्र ‘लभ यू बाबा’को च्यारिटी सोमार्फत् पनि सहयोग रकम जुटेको गीतकार समेत रहेका थापाले बताए ।
अभियानकर्ता थापाले आफ्नो विशेष मन्तव्य राख्ने क्रममा भने, ‘अब विद्यालय भवन बन्छ । म त एक माध्यम मात्र हुँ, सहयोग गर्नेहरू त अरु नै छन् । अन्य व्यक्तिहरूको खल्तीको पैसा झिकेर ल्याउने काम पनि गरेको छु । यसमा धेरैको रगत र पसिना मुछिएको छ, यसको सही सदुपयोग हुन सकेमा सहयोगी मनहरूको कदर हुनेछ र हामीलाई पनि खुसी मिल्नेछ ।’
कार्यक्रमका सभापति एवं वडा नं. ८ का नवनिर्वाचित वडाध्यक्ष काशीनाथ अमगाईँले समाज विकासका लागि विद्यालय निकै महत्वपूर्ण भएको र यस्ताखाले सहयोगले सबैलाई केही गर्नुपर्छ भन्ने हौसला पुग्ने धारणा राखे । उनले सहयोग प्रदान गर्ने सबैको र विशेषगरी अभियानकर्ताको खुलेरै प्रशंसा गरेका थिए ।
कार्यक्रममा अन्य वक्ताहरूले पनि सहयोगको तारिफ गर्दै सहयोगी व्यक्तिहरू सबैलाई धन्यवाद व्यक्त गरेका थिए । सम्पूर्ण विद्यार्थीहरूलाई टी–सर्ट पनि वितरण गरिएको उक्त कार्यक्रममा स्थानीय वुद्धिजीवी, महिला, पत्रकार, बालबालिकाहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा विद्यालयका सानासाना बालबालिकाहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।