भक्तपुर,भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज साँझ ६ बजेर ३३ मिनेटमा उठाइएको छ ।
गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिंखेलमा पु¥याएपछि स्थानीयले करिब एक घण्टाको प्रयासमा लिङ्गो उठाइएको हो । ५५ हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको थियो । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा टुप्पोमा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो उठाउने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो उठाइएको हो ।
लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।
लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ । यसअघि आज बिहान पोटरीस्क्वायर स्थित कुमालेटोलमा स्थानीयले उठाएको हात नभएको लिङ्गो उठाएका छन् ।
यता मध्यपुर थिमिको महालक्ष्मी मन्दिर अगाडि पनि थिमिका बासिन्दाले आज लिङ्गो उठाएका छन् । यहाँ लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको ब्रत शुरु हुने र आगामी बैशाख २ गते जिब्रो छेडेपछि मात्रै ब्रत समाप्त हुने परम्परा छ ।
लिङ्गो उठाउने क्रममा सात जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको भक्तपुर अस्पताल र गम्भीर घाइते एक जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता केशव प्रसाईले जानकारी दिनुभयो ।