विष्णु र तुलसीलाई विवाह गरिने हरि बोधिनी एकादशी

प्रकासित मिति: २५ कार्तिक २०७३, बिहीबार १५:००

काठमाडौँ,  कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व  मनाइँदैछ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान् विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्प जस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णु प्रिया भएकाले यस दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।

कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा ‘गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने वाल्मीकि विद्यापीठका सहप्राध्यापक श्रीराम सापकोटाले बताउनुभयो ।

“यसका लागि चार महिनासम्म उपासना गरेर श्रद्धा भक्तिसाथ हरिबोधिनी एकादशीका दिनमा भगवान् विष्णुको विशेष पूजा गर्दा ११ वटै जाग्छन् भन्ने विश्वास छ”–उहाँले भन्नुभयो ।

किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी ब्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी ब्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको छ । आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

यस वर्ष बिहीबार दिउँसोदेखि एकादशी तिथि लाग्ने भएकाले स्मृतिलाई आधार मानी कर्म गर्ने स्मार्तहरुले आज र वेदलाई आधार मानी कर्म गर्ने वैदिक धर्मानुयायीले शुक्रबार ब्रत गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

“सूर्योदय हुनुअघि दशमीले छोएको दिनको एकादशी स्मार्तले र सूर्योदयमा एकादशी तिथि रहेको एकादशी वैष्णवले मान्ने गर्छन्, त्यसैले पञ्चाङ्गमा दुवै दिन दुई थरीको एकादशी उल्लेख गरिएको छ”– समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भन्नुभयो

Bhansar Bivag
Argakhachi Cement