संघर्षको स्वरूप फेरिएको हो हाम्रो मुल मुद्धा संविधान संशोधन नै हो

प्रकासित मिति: १३ पुष २०७४, बिहीबार ०७:४७

राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवं प्रदेशसभा सदस्य मनिष कुमार सुमनले राजपा र संघीय समाजवादी फोरमबीच अत्यन्तै प्रगाढ सम्बन्ध रहेको बताएका छन् । अहिलेको जनमतले पनि हामीलाई एकताको लागि दबाब दिएको छ, जनताको चाहना पनि यही हो भन्ने सुमन निकट भविष्यमै पार्टी एकता हुन सक्ने बताउँछन् । उनी प्रदेशलाई अधिकारविहीन बनाइएको र कम मात्र अधिकार दिइएको बताउँछन् । गाउँपालिकाभन्दा पनि कम अधिकार प्रदेशलाई दिइएको आरोप लगाउने सुमन पहिलोपटक निर्वाचनमा सहभागिता जनाएर निर्वाचित भएका हुन् । प्रष्ट विचार राख्न नहिच्किचाउने नेताको छवि भएका उनै नेता सुमनसँग बिष्णु निश्चलले गरको कुराकानी ः

तपाई प्रदेशसभामा प्रतिद्धन्दी भन्दा दोब्बर बढी मतले निर्वाचित हुनुभो, के आधारमा तपाईलाई जनताले मत दिए ?
मेरो क्षेत्रका जनताले परिर्वतन चाहेका थिए । मधेस आन्दोलनमा उठेका मुद्धाहरू– समतामूलक समाज निर्माण, वर्ग क्षेत्र र लिंगको आधारमा हुने बिभेदको अन्त्य, संविधान संशोधन, राज्यका हरेक तह र तप्कामा मधेसीको समानुपातिक समावेशी प्रनिनिधित्वको जुन चाहना राखेका छन्, त्यसैका लागि मलाई जनताले जिताए । साथै मेरो आफ्नो क्षेत्र सप्तरी जिल्लाको विकास, सडक, अस्पताल, विमानस्थल, सिचाइँको विकासलगायतका अपेक्षा जनताले राखेका छन् । म त्यहीको स्थानीय २९ वर्षदेखि राजनीतिमा काम गरेको मान्छे भएकोले पनि मलाई जनताले मत दिएर निर्वाचित गराए । मलाई जुन अपेक्षाका साथ निर्वाचित गराएका छन्, त्यो पूरा गर्न प्रतिबद्ध छु ।

संविधान संशोधनबिना चुनावमा जान्नौं भन्नुहुन्थ्यो, आखिर जानुभयो । अब के गर्नुहुन्छ ?
संविधान संशोधनबिना निर्वाचनमा जान्नौं भनेकै हो । संसदमा संविधान संशोधनको पक्षमा बहुमत हुदाँहँुदै पनि दुईतिहाइ नपुगेका कारण हामी पराजित भयौं । खेलको नियम मानेर नै हामी निर्वाचनमा होमिएका हौँ र हामीले स्थानीय तहको तेस्रो चरण, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागिता जनाएका छौँ । अब पनि हाम्रो मुल सवाल संविधान संशोधन नै हो । हामीले संघर्ष छाडेका छैनौं, संघर्षको स्वरूप मात्र परिवर्तन गरेका छौं । निर्वाचनलाई हामीले आन्दोलनकै रूपमा प्रयोग गरेका हौं । हामी संघर्ष र आन्दोलनबाट अलग भएका छैनौं । अब हाम्रो आन्दोलन सदनमा हुन्छ । मधेसी जनताले मतको माध्यमबाट आफ्नो भावना अभिव्यक्त गरेका छन् । अन्तरिम संविधानले दिएको अधिकारसमेत खोस्ने काम भएको छ ।
यो संविधान सबै नेपाली जनताले अपनत्व महसुस गर्ने खालको हुनुपर्छ भन्ने हो । हाम्रो मुल मुद्धासँग सहमत हुने राजनीतिक दलसँग हामी सहकार्य गरेर अगाडि बढ्न चाहन्छाँै ।

पछिल्लो राजनैतिक अवस्थालाई यहाँले कसरी मुल्याङ्कन गर्नुभएको छ ?
यो राजनैतिक अकर्मण्यता हो । जसले संविधान जारी गरे उनीहरू नै अहिलेको संविधानमा खोट रहेको देखाउन थालिसकेका छन् । राष्ट्रिय सभासम्बन्धी गठनको विवादबारे नेताहरू नै टिप्पणी गर्दैछन् कि यो संविधानमा धेरै त्रुटिहरू छन्, यसलाई अभ्यास गर्दै जाँदा अहिले थाहा भइरहेको छ । संविधान जारी गर्ने दलहरूले अहिले यही समस्या भोगिरहेका छन् । तसर्थ हामीले उठाएका मुद्धालगायत थुप्रै विषयमा संविधान संशोधन गनुपर्ने हुन्छ । राजपाले राष्ट्रपतिकोमा पुगेको अध्यादेश जस्ताको तस्तै प्रमाणीकरण गर्नुपर्छ भन्दै आएको छ । राष्ट्रपतिले पार्टीको कार्यकर्ताझैँ राष्ट्रियसभा गठनबारे अध्यादेशलाई अडकाएर राख्नुभएको छ । यस्ले सम्पुर्ण निर्वाचन प्रणालीलाई नै अप्ठयारो पारदैछ । राजपा एकल संक्रमणीय प्रणालीको पक्षमा छौ ।

तपाईंलाई प्रदेश नम्बर २ को मुख्यमन्त्रीका रूपमा हेरिँदैछ ?
मैले २ नम्बर प्रदेशको मुख्यमन्त्रीको दाबी गरेको छैन । साथीभाइ र सञ्चार माध्यमले यो प्रचार गरेका छन्, उनीहरूलाई धन्यवाद दिँदै यदि मैले अवसर भेटे भने मुख्यमन्त्री त के प्रधानमन्त्री समेत सहज तरिकाले चलाउन सक्छु भन्ने लाग्छ । यसको लागि मेरो पार्टीको निर्णय, मधेस गठबन्धनको हाईकमाण्डको निर्णय र खासगरी मेरा १०७ जना प्रदेश सांसदले पत्याएपछि मात्र म मुख्यमन्त्री बन्ने हो । निर्वाचनको अन्तिम परिणाम आएको छैन, हेर्दै जाऊँ, मौका मिले तयार छु ।

यदि मैले अवसर भेटे भने मुख्यमन्त्री त के प्रधानमन्त्री समेत सहज तरिकाले चलाउन सक्छु
– प्रदेश र स्थानीय तहलाई समानान्तर अधिकार दिएर प्रदेशलाई पंगु बनाउने काम भएको छ ।
– मधेसीको भाषा–संस्कृति र पोशाकलाई अन्तर्राष्ट्रियकरण गर्दै विकास र समृद्धिको अभियान सञ्चालन गर्नेछौं ।
– एमाले अछुत छ, उसका नेताहरूले हामीलाई कहिले भाषाको नाममा, कहिले पहिरनको नाममा, कहिले केको नाममा गालीगलौज र तथानाम भन्ने गरेका छन्, तसर्थ एमालेसँगको सहकार्य सम्भव छैन ।
– राष्ट्रपतिकोमा पुगेको अध्यादेश जस्ताको तस्तै प्रमाणीकरण गर्नुपर्छ ।
– संविधानमा धेरै त्रुटिहरू छन्, यसलाई अभ्यास गर्दै जाँदा अहिले थाहा भइरहेको छ । थुप्रै विषयमा संविधान संशोधन गनुपर्ने हुन्छ ।

प्रदेश नम्बर २ को राजधानी कहाँ बनाउनुपर्छ ?
यो प्रदेशसभाले निर्णय गर्छ । कुन ठाउँमा राख्दा राम्रो हुन्छ, कुन ठाउँ उपयुक्त हुन्छ, त्यो प्रदेशले छिनोफानो गर्छ । जनकपुरबासीले जनकपुर र वीरगञ्जबासीले वीरगञ्ज भनिरहेका छन् । यसको जवाफ दिने अधिकार प्रदेशलाई दिइएको छ । संवैधानिक व्यवस्थाअन्तर्गत हिँड्नुपर्छ । विवादरहीत ढंगबाट सबै अगाडि बढ्नुपर्छ । र, अहिले विवाद श्रृजना गर्ने पार्टीले नै संविधान बनाएको हो । संविधान बनाउँदा प्रदेशको राजधानी तोकिएन । मेरो बिचारमा सबै पूर्वाधारको हिसाबले जनकपुर नै उपयुक्त होला ।

हालैको चुनावबाट आएको मतको बलमा संविधान संशोधन गराउन सक्नुहुन्छ ?
हाम्रो सडकको आन्दोलन अब सदनमा पुगिसक्यो । मधेसी मलाई चाहिँदैन, मधेस मलाई चाहिँदैन भन्ने हो भने दुई तिहाइ कहिल्यै पुग्दैन । मधेसी पनि चाहिन्छ, मधेस पनि चाहिन्छ, यो पनि नेपालको भाग हो, मधेसी पनि नेपाली नागरिक हुन् भन्ने कुरा आत्मसात गरियो भने संविधान संशोधन हुन्छ । मधेसी जनताले आफ्नो भावना मतमार्फत् व्यक्त गरेका छन् ।

२ नं. प्रदेशमा तपाईंहरूले सरकार कसरी निर्माण गर्नुहुन्छ ?
फोरम नेपाल र राजपालाई एक भएर सरकार निर्माण गर्ने म्यान्डेट जनताले दिएका छन् । जनताको आकांक्षाअनुसार अगाडि बढ्नु नै हाम्रो प्रमुख दायित्व हुनेछ । किनकि हामी दुई पार्टीसँग स्पष्ट बहुमत छ । यसको अलवा हाम्रा मुद्धासँग सहमति हुने अन्य दलसँग सहकार्य गर्ने ढोका पनि खुल्ला नै छ । तर एमालेका अध्यक्ष केपी ओली हामीप्रति निकै कडा, कठोर र कटु वचन बोल्ने नेता हुन् । एमाले अछुत छ, उसका नेताहरूले हामीलाई कहिले भाषाको नाममा, कहिले पहिरनको नाममा, कहिले केको नाममा गालीगलौज र तथानाम भन्ने गरेका छन्, तसर्थ एमालेसँगको सहकार्य सम्भव छैन ।

प्रदेश नम्बर २ का मुख्य एजेण्डाचाहिँ के हुन् ?
मधेसी जनताको मुख्य एजेण्डा पहिचान, अधिकार र विकासका कुरा नै हुन् । यसका लागि संविधान संशोधनलगायतका विषयहरू छन् । संविधान संशोधनका लागि हामी प्रतिबद्ध भएर लाग्ने छौं । साथै, शासन व्यवस्था विकासका लागि हुन्छ । विकासका लागि पनि जनतासँग हातेमालो गरेर अगाडि बढ्छौं । दुई नम्बर प्रदेश राज्यको दृष्टिबाट उपेक्षित रहेको छ । मधेसमा हुने सबै विकासका लागि आफ्नो ज्यानको बलिदान गर्ने ति शहिदका सपनाहरू साकार पार्ने दिशामा काम गर्ने छु ।

यो प्रदेशलाई कसरी समृद्ध बनाउनुहुन्छ ?
प्रदेश नम्बर २ को कुरा गर्ने हो भने यो प्रदेश हरेक हिसाबले समृद्ध छ । समृद्धिका स्रोतलाई संरक्षण र सम्बद्र्धन गर्दै अगाडि बढ्नुपर्छ । मुलुकमा शान्ति र स्थिरता दिएर मुलुकको विकासतर्फ लाग्नुपर्छ । उत्पीडित समुदायका माग सम्बोधन गर्नेतर्फ लाग्नुपर्छ । मधेस विकासको लागि मनिष सुमनले केही गर्छ भन्ने विश्वास मैले मत माग्दा जनताबाट पाएको छु । तसर्थ ती मधेसी जनताको चाहना अनुसार काम गर्छु । मेरा माग खातिर जीवन उत्सर्ग गर्ने शहिदहरूलाई सम्मानित गर्नु हो । मधेसमा हुने हरेक विकास कार्यहरू अब कुनै राजा–महाराजाको नामले हैन, मधेसमा शाहदत प्राप्त गरेका ती शहिदहरूको नामले बाटाहरू, अस्पतालहरू खोलिनेछ । केन्द्रीय सरकारलाई संविधान संशोधनको लागि दबाब दिइरहने हो ।
यतिमात्र हैन त्यहाँको शिक्षा, स्वास्थ्य, पर्यटनको विकासका साथै कुरीति–अन्धविश्वासलाई हटाउने, सडक निर्माण, पानी, मधेसीको भाषा–संस्कृति र पोशाकलाई अन्तर्राष्ट्रियकरण गर्दै विकास र समृद्धिको अभियान सञ्चालन गर्नेछौं ।

प्रदेशहरू कत्तिको अधिकार सम्पन्न छन् ?
प्रदेश र स्थानीय तहलाई समानान्तर अधिकार दिएर प्रदेशलाई पंगु बनाउने काम भएको छ । अधिकारहरू एकअर्कासँग बाझिएका छन् । समग्रभन्दा अहिले प्रदेशलाई आवश्यक अधिकार दिइएको छैन । तर, अब प्रदेशले आफैं खोसेर केन्द्रसँग अधिकार लिन्छ । विस्तारै प्रदेश अधिकारसम्पन्न हुँदै जानेछन् ।

तपाईको दलले निर्वाचनबाट ल्याएको परिणामबाट सन्तुष्ट हुनुहुन्छ ?
परिणाम राम्रो आएको छ । चुनावका लागि हामीले केही पहिलेदेखि तयारी गरेको भए शायद यो भन्दा राम्रो नतिजा पनि आउन सक्थ्यो । एक–ठाउँमा हामी पछि प¥यो । त्यसमा आफ्नै नेताको कमिकमजोरीका कारण यस्तो भयो । ती ठाउँहरूमा अझै मिहिनेत हुन सकेको भए हामी अझ धेरै राम्रो गर्न सक्थ्यौं होला । केही ठाउँमा स्थानीयस्तरमा नेताहरूसँग तालमेल हुन नसक्दा त्रुटिहरू भएका छन् । त्यसैले हामी त्रुटि सच्याउँदै अगाडि बढ्नुपर्छ । जनताले मधेसबाट एमाले, माओवादी र कांग्रेसलाई बिदा गर्न खोजेका छन् । जनमत हाम्रो पक्षमा छ ।

Bhansar Bivag
Argakhachi Cement